उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

२५ असोज ८०, बिहीबार
Share this
709shares

२५ असोज,काठमाण्डौ ।
मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटिएका प्रशासनका कर्मचारीले चीन प्रस्थान प्रवेश अनुमतिपत्रको आवेदन सङ्कलन गरेको जानकारी दिए । “मङ्गलबारदेखि आवेदन सङ्कलन भइरहेको छ”, उनले भने, “इलाका र जिल्ला प्रशासन कार्यालयमा अधिकृतस्तरका अन्य कर्मचारी नभएकाले म आफै लोमान्थाङ पुगेर अनुमतिपत्रमा हस्ताक्षरण गर्ने तयारीमा छु ।”

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेश अनुमतिपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको हो । प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् ।

Advertisement

बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो । “नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन”, प्रजिअ पन्तले भने, “चिनियाँ सुुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।”

कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला विसं २०७६ देखि भएको थिएन । दसैँ अघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिले पहल गरेका छन् । यही असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी पन्तले केही दिनमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताए । सन् १९६० को दशकमा चीनमा तिब्बत् गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकटोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसैगरी पश्मिना, जडीबुटी निकासी गर्न सकिने लोमान्थाङ गाउँपालिकाका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top