२७ असोज, काठमाण्डौ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्याका विषयमा छलफल भएको छ । तीन नेताबीचको छलफलमा कोशी प्रदेशको कारण केन्द्रमा सत्ता गठबन्धनलाई कुनै असर पर्न नदिइ थप सुदृढ बनाउने सहमतिसमेत भएको छ ।
छलफलमा तीन नेता कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत भएका हुन् । शनिबार बिहान बसेको तीन नेताको बैठकले वर्तमान सत्ता गठबन्धनप्रति आफूहरू दृढ र स्पष्ट रहेको उल्लेख गरेका छन् । बैठकपछि ३ नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा भनिएको छ, ’ हामाी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।
’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि कोशीमा गठबन्धनकै सरकारले निरन्तरता पाउने बताए । ‘कोशीमा कांग्रेस नेता केदार कार्कीको नेतृत्वमा गठबन्धनकै सरकार कायम रहन्छ,’ आचार्यले भने । यसअघि डा. शेखर कोइरालाले पार्टीमा विद्रोह सुरु गरेको आरोप काँग्रेसका नेताहरुले लगाएका थिए ।
तर आज विहान भएको छलफलमा भने डा. शेखर कोइरालाले पनि सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धता जनाएका हुन् । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका थियो ।
उनका विश्वासपात्र केदार कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । शनिबार ४७ जनाले हस्ताक्षर सनाखत गरेसँगै कार्की कोशीको मुख्यमन्त्री बनेका छन् । कोशीमा प्रदेश सांसदहरुको सनाखत भइरहँदा बालुवाटारमा भने सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो । बैठकमा सत्ता गबन्धनलाई कायमै राख्ने सहमति भएको हो ।