१६ कार्तिक, काठमाण्डौ ।
विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो । यो पराजयसँगै आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ’ए’ को उपविजेतामै सीमित भएको छ।
लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भयो। नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ’बी’ को विजेता यूएईसँग खेल्नेछ ।
जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने छ ।नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकपको टिकट काट्नेछन्।
बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सक्यो। नेपालले पावरप्लेको ६ ओभर सकिदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रनमा आउट हुँदा त्यसपछि मैदान आएका सोमपाल कामी १२ रन बनाएर आउट भए।
यस्तै छैटौं ओभरको अन्तिम बलमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड भए। त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। नेपालका कप्तान रोहित पौडेल पनि १२ रन बनाएर आउट हुँदा नेपालले ९ ओभरमा ४ विकेट गुमायो। नेपालले पाँचौ विकेटको रुपमा कुशल मल्ललाई १० रनमा गुमायो।
गुल्सन झा पनि ३ रनमा आउट हुँदा नेपालले १३ ओभरमा ६ विकेट गुमाएको थियो भने सातौं विकेटको रुपमा सन्दीप जोरा १५औं ओभरमा १२ रनमा आउट भएका थिए। नेपाललाई अन्तिम ओभरमा २६ रन चाहिएको बेलामा विवेक यादवले ओमानका विलाल खानलाई सुरुवाती तीन बलमा तीन छक्का हिर्काएका थिए।
एक बल वाइड हुँदा नेपालले १९ रन जोडेको थियो। चौथो बलमा विवेक आउट हुँदा पाँचौ बलमा अभिनास बोहराले १ रन लिए। अन्तिम बलमा छक्का चाहिएको स्थितिमा नेपालका कारण केसी क्याच भए। बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए।
त्यसअघि समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिन सफल भए।
गुल्सन झा र अभिनास बोहराले १–१ विकेट हात पारे। समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगेका थिए। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो।