Nepal Times
Nepal Times
135
Shares

बालेनको महानगरवासीको दुःख मेट्ने अभियान सुरु

बालेनको महानगरवासीको दुःख मेट्ने अभियान सुरु

२० कार्तिक , काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ नारासहित महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि सो योजना कार्यान्वयनमा ल्याएको बताएका छन् । यो योजनाको उद्धेश्य महानगरका सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने रहेको उनले बताएका छन्।

सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिन, किरिया खर्चको अभावमा संस्कार छोड्ने अवस्था सिर्जना नगर्न, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस हुन नदिन यो कार्यक्रम ल्याएको उनले बताएका छन् । ‘तपाईंका यस्ता समस्यामा हामी साथ दिन्छौं।

तपाईं काठमाडौं महानगरबासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला,’ उनले सामाजिक संजालमा राखेका छन्। यसरी सम्पर्क गर्दा कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो भन्ने ब्यहोरा खुलेको निवेदन लिएर जानु पर्नेछ।

निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौं महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भए वडाको सिफारिस पनि समावेश गर्नुपर्नेछ। बालेनका अनुसार विपन्न र किरिया खर्च आवश्यक भएकालाई महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउनेछ।

महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ।

यस्तै, घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउनेछ।

बालेनले शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने पनि बताएका छन्।

यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराउनेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.