१८ मंसिर, एजेन्सी ।
भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमध्ये तीन वटामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आगामी वर्ष हुने लोकसभाको चुनावबाट लगातार तेस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो सुखद् सङ्केत भएको समाचारमा उल्लेख गरिएको छ । चुनावको नतिजापछि नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले केही व्यक्तिले यो चुनावलाई लिएर भारतलाई विभिन्न जातिमा विभाजन गर्न खोजे पनि त्यो सफल नभएको टिप्पणी गरे ।
उनले आफ्ना लागि भारतमा नारी, युवा, किसान र गरीब परिवार गरी चार जाति रहेको र यी जातिलाई सशक्त बनाउन सकेमात्रै देश विकास हुने बताए । यस्तै, भारतको तेलङ्गना राज्यमा भने कंग्रेस विजयी भएको छ । भारत राष्ट्र समिति बीआरएसलाई पराजित गर्दै तेलङ्गनामा कंग्रेस विजयी भएको हो । मिजोरममा भने आज मतगणना हुँदैछ ।
यसैबीच, तेलङ्गनाका मुख्यमन्त्री के. चन्द्रशेखर रावले पदबाट राजीनामा दिएका छन् । विधानसभा चुनावमा आफ्नो पार्टी भारत राष्ट्र समिति बीआरएसले हार व्यहोरे पछि उनले राजीनामा दिएका हुन् । राजस्थानमा पनि भारतीय कांग्रेसका वर्तमान मुख्यमन्त्री अशोक गहलोतले हार स्वीकार गर्दै राज्यपाललाई राजीनामा बुझाएका छन् ।
राजस्थानमा भाजपाको चुनावी जितमा यसका दिग्गज नेताहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ । मध्यप्रदेशमा सरकार जोगाउँदै भाजपाले जित हासिल गरेको छ भने राजस्थान र छत्तिसगढमा कंग्रेसलाई विस्थापित गरेको हो । भारतमा करिब पाँच महिनापछि केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ ।
त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावको परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ । सन् २०१४ यता विभिन्न तहका चुनाव भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीकै उपस्थिती र उनकै नामको बलमा जित्दै आएको छ ।
लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने सम्भावना देखिएको छ । आइतबार साँझ भाजपा मुख्यालय पुगेका प्रधानमन्त्री मोदीले अहिलेको परिणामले २०२४ को लोकसभा चुनावमा ‘ह्याट्रिक ग्यारेन्टी’ गरेको दाबी गरे ।
मोदीले चुनावी परिणामको सन्देश पूरै विश्वले थाहा पाएको हुन सक्ने भन्दै उनले उत्साह प्रकट गरेका छन् । भारतमा २०१४ र २०१९ को लोकसभा चुनाव भाजपाले जितेपछि मोदी लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री छन । उनले तेस्रो पटक पनि भाजपाले सरकार बनाउने दाबी गर्दै आएका छन ।
यता कंग्रेस नेता राहुल गान्धीले गतवर्ष गरेको ‘भारत जोडो यात्रा’ वा उनका अन्य विभिन्न प्रयासहरूको परिणाम हिन्दी भाषी प्रदेशमा देखिएन । चुनावी परिणामपछि कंग्रेस नेता गान्धीले जनादेशलाई विनम्रतापूर्वक स्वीकार गरेको र विधारधाराको लडाइँ जारी राख्ने बताएका छन ।
पछिल्लो चुनाव परिणामले भाजपा नेतृत्वको राज्य सरकारको संख्या १६ पुगेको छ । १२ राज्यमा भाजपा एक्लैले र चार राज्यमा गठबन्धनको बलमा सरकारमा हुनेछ । कंग्रेसको एकल सरकार रहेका राज्यको संख्या भने तीनमा खुम्चिएको छ । बिहार र झारखण्डमा कंग्रेस गठबन्धन सरकारमा छ । दिल्ली र पञ्जाबमा आम आदमी पार्टीको सरकार छ ।