Nepal Times
Nepal Times
3
Shares

गाजापट्टीको दक्षिणी क्षेत्रमा पनि इजरायली सेना

गाजापट्टीको दक्षिणी क्षेत्रमा पनि इजरायली सेना

१८ मंसिर,एजेन्सी ।
इजरायलले आइतबार गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा दर्जनौँ मानिसको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सयौँ मानिस घाइते भएका जनाइएको छ । जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निसाना बनाएर आक्रमण गरिएको थियो ।

पछिल्ला केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ । यस्तै, गाजा सहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रस्थित एउटा घरलाई निसाना बनाएर गरिएको इजरायली बमबारीमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा सहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएका जनाएको छ । नागरिक रक्षा सेवाका प्रवक्ता महमूद बसालले हालैका घण्टाहरूमा इजरायली हवाई आक्रमणका कारण ८४ जनाको मृत्यु भएको जानकारी दिए ।

सरकारको मिडिया कार्यालयका निर्देशक इस्माइल अल–थवाबतेहले आइतबार गाजामा पछिल्लो २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका बताए । यसबीच इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थालेको छ ।

इजरायली सेनाले गाजाको खान युनिस सहरको उत्तरी क्षेत्रबाट स्थलगत अभियान शुरु गरेको छ । यो शहरमा इजरायली सेनाको ट्याङकको तस्बिर देखिएको पनि खबरमा उल्लेख गरिएको छ । इजरायली रक्षा बल आइडिएफका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेभीले आक्रमणलाई बढाएको बताएका छन् । उनले तयारीका साथ मजबुत ढङ्गले आफ्ना सेनाहरु हमासविरुद्ध लडिरहेका दाबी गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.