१८ मंसिर,एजेन्सी ।
हतियारको होडमा रहेका विश्वका शक्तिसम्पन्न राष्ट्रहरु पछिल्लो समय अन्तरिक्षमाथि विजयी हासिल गर्ने प्रयासमा छन् । यस्तो अवस्थामा उत्तर कोरियाले गत नोभेम्बर २१ का दिन जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेपछि उसले विश्वलाई निगरानी गर्ने सामर्थ्य राखेको छ ।
त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्नो जासुसी भूउपग्रह मालिगङ्योङ–१ ले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र त्यहाँको रक्षा मन्त्रालय पेन्टागनको तस्वीर पनि खिचिसकेको बताउन थालेका छन् । किमले अमेरिकी महत्त्वपूर्ण स्थानको तस्वीर र जानकारी आफूसँग छ भन्नुको अर्थ उसले अमेरिकालाई उत्तर कोरियालाई कम नआक्न सचेत गराएका हुन् ।
उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उनीहरूको भूउपग्रहले अमेरिका र दक्षिण कोरियाको निगरानी गर्नेछ । भूउपग्रह कार्यक्रममा सफल भएको अवस्थामा उत्तर कोरियाले शनिबार मात्र अमेरिका लक्षित चेतावनी पनि जारी गरेको छ ।
उत्तर कोरियाले आफ्नो ‘अन्तरिक्ष सम्पत्ति’मा कुनै पनि अमेरिकी हस्तक्षेपलाई ‘युद्धको घोषणा’ मानिने प्योङयाङको भनाइ छ । केसीएनएमा प्रकाशित समाचार अनुसार प्योङयाङको भूउपग्रहमा अमेरिकाको सम्भावित हस्तक्षेप वा आक्रमणलाई उत्तर कोरियाले युद्धको घोषणा मान्ने उल्लेख छ ।
प्योङयाङले आफ्नो पहिलो जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेको दुई हप्तामै यस्तो चेतावनी जारी गरेको हो । वास्तवमा दक्षिण कोरिया, अमेरिका र जापानको संयुक्त युद्ध अभ्यासलाई उत्तर कोरियाले आफ्नो देशमाथिको आक्रमणको योजना भन्ने गरेको छ ।
उनीहरूबाट उत्पन्न हुने खतरालाई पत्ता लगाउन उत्तर कोरियाले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाएको बताउने गर्छ । उत्तर कोरियाली भूउपग्रहले आफ्नो देश वरपरको सैन्य गतिविधि निगरानी गर्नेछ । उत्तर कोरियाले जासुसी भूउपग्रह प्रक्षेपण गरेको केही समयमै दक्षिण कोरियाले पनि अन्तरिक्षमा जासुसी भूउपग्रह पठाएको छ ।