१८ मंसिर, एजेन्सी ।
नाइजेरियामा चरमपन्थी समूहलाई लक्षित गरी हानेको ड्रोन दुर्घटनावश बस्तीबीच खस्दा कम्तीमा पनि ८५ जना सर्वसाधारण मारिएका छन् । नाइजेरियाली सेनाले हानेको यस ड्रोनको निशानामा चरमपन्थी थिए, तर दुर्घटनावश कादुना प्रान्तस्थित एक गाउँमा खसेको हो ।
नाइजेरियाको नेशनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका अनुसार यो दुर्घटना आइतबार स्थानीय मानिसहरू एक मुस्लिम पर्व मनाउन भेला भएका बेला भएको हो । दुर्घटनामा बाँचेकामध्ये ६ जनालाई तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
नाइजेरियाको सेनाले प्रायःजसो इस्लामिक चरमपन्थी र आपराधिक गिरोहविरूद्ध आफ्नो लडाइँका लागि ड्रोन आक्रमणको सहारा लिने गरेको छ । देशको उत्तर पश्चिमी इलाकामा इस्लामिक चरमपन्थी र आपराधिक गिरोहको आतंक छ ।
यता रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । ’हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति विफल पारियो’ रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । मन्त्रालयले २२ युक्रेनी ड्रोनहरू ध्वस्त पारिएको र अन्य १३ वटा ड्रोनलाइ समुद्रमा रोकिएको बताएको छ ।