Nepal Times
Nepal Times
3
Shares

बरहथवामा जयशंकरको शव तीन दिनदेखि सडकमै

बरहथवामा जयशंकरको शव तीन दिनदेखि सडकमै

२२ पुष, काठमाण्डौ ।
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि सडकमै छ । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, अहिले सम्म पनि उनको शव सोही ठाउँमा छ ।

सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ । अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन मानेका छैनन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफन्त र स्थानीयले नमान्दा अझैसम्म मृतक युवकको शव उठाउन नसकिएको बताए ।

बरहथवामा आन्दोलनरत पक्षले घटनाको छानविन, दोषीलाई कारबाही, मृतकलाई सहीद घोषणा, पीडित परिवारलाई राहत, नगर अस्पतालाई ५० शैय्यामा स्तरोन्ती, मृतकको नाममा अस्पतालको नामाकरण र बरहथवामा मृतकको शालिक निर्माण गर्नुपर्ने माग गरेको छ ।

आन्दोलन हिंसात्मक झडपमा परिणत भएपछि सरकारले शुक्रबार र शनिबार बरहथवा बजार क्षेत्रमा कफ्र्यु र निषेधाज्ञा लगाएको थियो । अवस्था सामान्य बन्दै गएपछि आज बिहानदेखि भने निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।

सरकारले मृतक युवकका आश्रित परिवारलाई १० लाख राहत दिने घोषणा गरिसकेको छ । त्यसैगरी घटनाको छानविनको लागि गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको समिति पनि गठन गरेको छ ।

घटनाबारे सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समयसीमा तोकिएको छ । यस्तै गोली चलाएको आरोप लागेका प्रहरी भने जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानेर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.