२३ पुष, विराटनगर ।
बंग्लादेशमा एक पटक फेरि शेख हसिना प्रधानमन्त्री बन्दैछिन् । आइतबार भएको आम चुनावमा उनको पार्टी आवामी लीगले दुई तिहाईको बहुमत प्राप्त गरेको छ । यससंगै उनी लगातार चौथो कार्यकालका लागि सत्ताको कमाण्ड सम्हाल्दै छिन् ।
१५ वर्षको अवधिमा भने उनको यो पाँचौ कार्यकाल हो । चुनावको नतिजा आज सार्वजनिक भएपनि उनले यो पटक पनि बाजी मार्ने पहिले नै सुनिश्चित जस्तै थियो । यी सबका बीच ध्यान विपक्षीहरुले पनि खिचेका छन् ।
छिटपुट हिंसा र मुख्य विपक्षी दल बंग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) तथा उसका सहयोगी दलहरुको बहिष्कारका बीच भएको चुनावमा के देखिएको छ भने, जातीय पार्टीभन्दा अगाडि स्वतन्त्र उम्मेदवारहरु रहेका देखिए ।
अवामी लीगले २२३ निर्वाचन क्षेत्रहरुमा जीत हासिल गर्दा जातीय पार्टीले मात्रै ११ सिटमा जित हासिल गरे । जबकी ६२ सिटहरुमा स्वतन्त्र उमेद्वारहरुले जित निकालेका छन् ।
यो आँकडाले संसदमा विपक्षको शक्ति र भूमिकामाथि प्रश्न उठाएको छ । खासगरी त्यतिबेला, जतिबेला सबैभन्दा ठूलो विपक्षी दल बीएनपीले चुनावको बहिष्कार गरेको छ ।
सत्तारुढ दलसंग गठजोड गरेका स्वतन्त्र उमेद्वारहरुले अवामी लीग र जातीय पार्टीका हाल रहेका सांसदहरुसहित दर्जनौं दिग्गजमाथि आश्चार्यजनक जित हासिल गरेका छन् ।
जातीय पार्टीले मात्रै ८ सिटकासाथ अब संसदमा आधिकारिक विपक्षीको प्रतिनिधित्व गर्नेछन् । यता आवामी लीगलाई भने ति सिटहरुमा मात्रै घाटा भएको छ, जहाँ भागभण्डाको सहमतिअनुसार चुनाव भएको थियो ।
कुल २६ सिटमा अवामीले अन्य दलहरुसंग मोर्चा बनाएको थियो, जसमा आधामा उसले हार व्योहोर्यो । अवामी लीगका बागी उमेद्वारले जातीय पार्टीका ६१ सिटहरुको तुलनामा लगभग छ गुणा अधिक सिटहरुमा जितेको छ ।
सबै गरेर अवामी लीगले २२९ निर्वाचन क्षेत्रमा २२३ सहितको पूर्ण बहुमत हासिल गरेको छ । यी स्वतन्त्र उमेद्वारहरुको अप्रत्याशित जीतले राजनीतिक परिदृश्यलाई निकै फेरिदिएको छ, जसले सत्तारुढ पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको एक नयाँ युगको संकेत दिएको छ ।
अब अवामी लीगको शासन अन्तर्गत बंग्लादेश नयाँ कार्यकालमा कदम राख्दैछ । यता विपक्षीको नयाँ स्वरूपले देशको संसदीय गतिशीलता र राजनीतिक संतुलनको भविष्यका बारेमा महत्वपूर्ण प्रश्नहरु पनि संगसंगै उठेका छन् ।
साथै के विश्लेषणहरु भइरहेका छन् भने, अवामी लीगको पूर्ण बहुमतका बीच स्वतन्त्र उमेद्वारहरुको जीतले देशको राजनीतिमा संकट निम्त्याउन सक्छ । यसले अवामी लीगकै सहयोगीहरुबीचमा पनि संकट ल्याउन सक्ने विश्लेषकहरु बताउँछन् ।
किनभने अवामी लीग सधैं आफ्नो रणनीतिका कारण अघि छ, न कि वैचारिक कारणले । त्यसो हुँदा एउटा बलियो विपक्षी संसदमा हुनुपर्ने थियो । तर अब नामका लागि मात्रै हुने भएको छ ।
किनभने स्वतन्त्र उमेद्वारहरुले संसदमा विपक्षीको भूमिका खेल्नेमा आशंका छ । केही त अब अवामी लीगमै प्रवेश गर्ने पनि चर्चा छ ।जे होस्, चुनावी परिणामले अब ७६ वर्षीय हसिनाले एकछत्र शासन गर्ने पक्का छ ।
राजनीतिकरुपमा जेजसरी टिकाटिप्पणी गरिएपनि हसिनाको चौथौ कार्यकालसम्म बंगलादेशले काँचुली फेरेको छ । मुस्लिम बहुल बंगलादेश कुनै समय विश्वकै गरिब मध्येमा पथ्र्यो ।
२००९ यता हसिनाको नेतृत्वमा यो मुलुकले ठूलो आर्थिक सफलता प्राप्त गरेको छ । अहिले बंगलादेश यो क्षेत्रकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको मुलुक हो । यो मुलुकको प्रतिव्यक्ति आय गएको एक दशकमा तेब्बर भएको छ ।
र, विश्व बैंकको आंकलनमा अढाई करोडभन्दा ज्यादा मानिस गएको २० वर्षमा गरिबीबाट मुक्त भएका छन् । आफ्नै पैसा, ऋण र विकास सहयोगलाई प्रयोग गरेर हसिनाको सरकारले ठुल्ठूला पूर्वाधार परियोजना सम्पन्न गरेको छ ।
जसमा गंगा नदीमाथि बनेको २.९ अर्ब डलरको पद्मा पुल समेत पर्छ । यो एउटै पुलले देशको जीडीपी १.२३ प्रतिशतले वृद्धि गर्ने आंकलन छ ।तर, महामारीपछि बंगलादेश महँगीसँग जुधिरहेको छ ।
नोभेम्बरमा मुद्रास्फिति ९.५ प्रतिशत थियो । मुलुकको सञ्चित विदेशी मुद्रा अगस्ट २०२१ मा कीर्तिमानी ४८ अर्ब डलरबाट अहिले २० अर्ब डलरमा झरेको छ । वैदेशिक ऋण पनि २०१६ यता दोब्बर भएको छ ।
आलोचकहरुका अनुसार बंगलादेशको आर्थिक सफलता लोकतन्त्र र मानवअधिकारको मूल्यमा प्राप्त भएको हो । हसिनाले राजनीतिक विपक्षी, मिडिया र विरोधीविरुद्ध दमनका उपाय अपनाएको उनीहरुको आरोप छ ।
अगस्टमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसविरुद्धको न्यायिक उत्पीडन रोक्न माग गर्दै अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामासहित १७० भन्दा बढी विश्वभरका हस्तीहरुले हसिनालाई खुला पत्र लेखेका थिए ।
पछिल्ला महिनाहरुमा थुप्रै बीएनपी नेताहरु समातिएका छन् ।बीएनपीका नेता अब्दुल मोइन खान झुटा आरोपमा पार्टीका २० हजारभन्दा बढी समर्थक थुनिएको र लाखौँलाई मुद्दा हालिएको बताउँछन् । तर सरकार यसको खण्डन गर्छ ।
तर, तथ्यांकहरुले राजनीतिप्रेरित गिरफ्तारी, बेपत्ता, हत्या र दुर्व्यवहारका घटना हसिनाको शासनमा बढिरहेको देखाउँछन् । यो कुनै समय बहुदलीय लोकतन्त्रका लागि लडेकी नेतृका लागि निकै ठूलो परिवर्तन हो ।
१९८० को दशकमा बंगलादेशमा जर्नेल हुसेन मोहम्मद इर्सादको सत्ता थियो । त्यसविरुद्ध हसिनाले कडा प्रतिस्पर्धी बेगम खालिदा जियासँग मिलेर सडक आन्दोलन गरेकी थिइन् ।
बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी जेठी छोरी हसिना बहुदलीय चुनाव जितेर पहिलो पटक १९९६ मा सत्तामा पुगिन । तर, २००१ को चुनाव हारिन्, बीएनपीकी खालिदा जियाले जितिन् । यी दुई महिलालाई यहाँ ‘जुधिरहेका बेगम’ पनि भन्ने गरिन्छ ।
खालिदा जिया अहिले भ्रष्टाचार आरोपमा नजरबन्दमा छिन् । उनी नहुँदा बीएनपीलाई गतिशील नेतृत्वको खाँचो छ । यो समस्यालाई विपक्षी नेताहरुको योजनाबद्ध गिरफ्तारी र सजायले अझ बढाइदिएको छ ।
बीएनपीलाई घुँडा टेकाउन अवामी लिगले जानीजानी यसो गरेको धेरैको आरोप छ । कतिपय जेल पर्नबाट जोगिन लुकेर बसेका छन् । अन्तर्राष्ट्रिय संघसंस्थाले मानवअधिकारको स्थिति खराब हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अदालतलाई हतियार बनाइएको उनीहरुको आरोप छ । तर, कानुनमन्त्री हक अदालतसँग सरकारको कुनै सरोकार नभएको दाबी गर्छन् । ठूलो संख्यामा गिरफ्तारी र दोषी करार गर्ने घटनाबाट मात्रै अधिकारवादी समूहहरु चिन्तित भएका होइनन् ।
२००९ यता जबर्जस्ती बेपत्ता तुल्याइएका र सुरक्षा फौजले गैरन्यायिक हत्याका सयौँ घटना अभिलेखमा राखिएको उनीहरु बताउँछन् । सरकारले भने यसको खण्डन गर्छ ।
तर,यस्ता घटनामा अनुसन्धान गर्न चाहने विदेशी पत्रकारको भ्रमणलाई पनि रोक्छ । स्थानीय पत्रकारहरुले सुरक्षाको डरले यस्ता घटनाको खोजी गर्नै छाडिसकेका छन् ।
२०२१ मा बंगलादेशको कुख्यात अर्धसैनिक बल ¥यापिड एक्सन बटालियनविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएपछि गैरन्यायिक हत्याको संख्यामा निकै कमी आएको छ । तर, समग्र मानव अधिकारको अवस्थामा सुधार आएको छैन् ।
बंगलादेश चीनपछि विश्वको दोस्रो ठूलो कपडा निर्यातकर्ता हो । गत वर्ष मात्र उसले ४५ अर्ब डलरको तयारी कपडा निर्यात ग¥यो । मुख्यगरी युरोप र अमेरिकामा ।
त्यसैले, धेरैको प्रश्न छ, यत्रो प्रभाव हुँदाहुँदै पश्चिमा मुलुकहरु किन हसिनालाई लोकतान्त्रिक संस्थाहरु ध्वस्त पार्न छाडिदिन्छन ? यहाँ छिमेकी भारत उसको सबैभन्दा ठूलो कवच बनेको छ ।
जसले बंगलादेशविरुद्धको दबाबमूलक कदमको विरोध गर्छ । यसको एक कारण हो, उसको स्वार्थ । भारत आफ्ना पूर्वोत्तरका ७ राज्यमा बंगलादेश हुँदै सडक र जल यातायातको पहुँच चाहन्छ ।
भारत ‘चिकेन नेक’ करिडोरलाई लिएर पनि चिन्तित छ । नेपाल, बंगलादेश र भुटानबीच रहेको २० किमि चौडा यो करिडोरले उत्तरपूर्वी भारतका राज्यहरुलाई बाँकी भारतसँग जोड्छ ।
चीनसँग सम्भावित जुनसुकै द्वन्द्वका बेला यो करिडोर रणनीतिक रुपले जोखिममा पर्ने दिल्लीका अधिकारीहरुलाई डर छ । त्यसैले पनि २००९ मा सत्तामा आए लगत्तै हसिनाले दिल्लीको साथ पाइन् ।
सीमा क्षेत्रमा सञ्चालित जातीय समूहविरुद्ध दमन गरेर उनले भारतको मन जितेकी थिइन् । त्यसमाथि बंगलादेशलाई ज्यादा दबाब दिने हो भने ऊ चीनतिर ढल्किने डर पनि छ ।
भारतसँग क्षेत्रीय प्रभुत्वका लागि प्रतिस्पर्धारत चीन बंगलादेशमा प्रभाव विस्तार गर्न इच्छुक छ । यस्तोमा अहिलेलाई हसिनाको सत्तायात्रामा कुनै बाधा देखिँदैन । तर, अन्य क्षेत्रबाट चुनौती आउन सक्छन् ।
ढाकाले भुक्तानीमा समस्या आउने डरले यसअघि नै अन्तर्राष्ट्रिय मुद्राकोषसँग ४.७ अर्ब डलर ऋण मागिसकेको छ । त्यसैले चुनावपछि अर्थतन्त्र उकास्न हसिना सरकारले कठोर कदम चाल्नुपर्ने हुनसक्छ ।
यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।