बैंकको ब्याजदर फेरि घट्यो, कुन बैंकको कति ?

२८ पुस ८०, आइतबार

२९ पुष,काठमाण्डौ ।
वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ। बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ ।

Advertisement

नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ९.१५ प्रतिशत प्रस्ताव गरेको छ भने बैंकले संस्थागत निक्षेपमा ६.६ प्रतिशत प्रस्ताव गरेको छ । यसैगरी कम ब्याजदर प्रस्ताव गर्ने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत प्रस्ताव गरेको छ भने संस्थागत निक्षेपमा ५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।

पुसको तुलनामा कृषि विकास बैंकले १.२५ प्रतिशतले ब्याजदर घटाएको हो भने सिटिजन्स् बैंकले जम्मा ०.२ प्रतिशतले मात्र घटाएको हो । यस्तै अन्य बैंकहरुमा नेपाल एसबीआई बैंकले १.३५ प्रतिशतले ब्याजदर घटाउँदै माघ महिनाका लागि निक्षेपको ब्याजदर ८.२५ प्रतिशत प्रस्ताव गरेको छ भने सिद्धार्थ बैंकले १.१५ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, प्राइम कमर्सियल बैंकले १.९ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, माछापुच्छ्रे बैंकले १.६ प्रतिशतले घटाउँदै ८ प्रतिशत, कुमारी बैंकले १.२ प्रतिशतले घटाउँदै ८.११ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १ प्रतिशतले ब्याजदर घटाएर ८ प्रतिशत प्रस्ताव गरेको छ ।

Advertisement

यसैगरी नेपाल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पुसको ब्याजदरमा १ प्रतिशत कमले घटाएका छन् । २० वटा बैंकमध्ये चारवटा बैंकहरु एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने ब्याजदर यथास्थितिमा राख्दै क्रमशः ८ प्रतिशत, ८.०७ प्रतिशत, ९ प्रतिशत र ९.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै जाने तर यता लगानी (कर्जा) को माग नहुँदा बैंकहरुको खर्च बढी हुँदा पनि ब्याजदर घटाउन बैंकहरु बाध्य भएका हुन् । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार पुस २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा ६० खर्ब ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन हुँदै गर्दा यता सोही अवधिमा मुस्किलले ५० खर्ब ४२ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ ।

Advertisement

बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले पैसा तानिरहेको छ । बजारमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएकाले पनि बैंकहरुमाथि ब्याजदर घटाउन दबाब परेको देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनामा (साउनदेखि मंसिरसम्म) वित्तीय क्षेत्र बाहेकका संस्थालाई बैंकहरूले आफ्नो कुल कर्जाको ६३.१ प्रतिशत लगानी गरेका छन्। व्यक्तिगत र घरपरिवारलाई जाने कर्जा ३६.९ प्रतिशत छ। ३० खर्ब ९७ अर्ब रूपैयाँ कर्जा लगानी संस्थाहरूमा र १८ खर्ब व्यक्तिगत र घरपरिवारमा लगानी भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top