२९ पुष,एजेन्सी।
ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी भएका छन् । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गरेका छन् ।
ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन् । लाइको जित पछि आयोजित ¥यालीमा बोल्दै ताइवानकी वर्तमान् राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको बताएकीछिन् । ताइवानको स्वतन्त्रता र लोकतन्त्रको लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उनले मतदाताहरुलाई धन्यवाद दिइन ।
यस्तै राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताएका छन् । उनले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने पनि जनाए । अब लाइले चार महिनापछि मे २० तारेखमा ताइवानको राष्ट्रपतिको शपथ लिनेछन् ।
नयाँ राष्ट्रपति बन्ने भएका विलियम लाइलाई बेइजिङले ‘समस्या सिर्जना गर्ने’ नेता भन्दै आलोचना गर्दै आएको छ । शनिबार भएको राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाख जनाले मतदान गरेका थिए । ताइवनाका सञ्चारमाध्यमहरूका अनुसार विलियम लाइ ५० लाख बढी मत प्राप्त गर्ने पहिलो राष्ट्रपति उम्मेदवार हुन् ।
बेइजिङले ताइवानका जनतालाई लाइको विरुद्धमा मतदान गर्न आग्रह गरेको थियो । शनिबार भएको निर्वाचनमा संसदको ११३ सिटका लागि पनि मतदान भएको थियो । राष्ट्रपति जितेपनि सत्तारुढ डेमोक्र्याटिक पिपुल्स पार्टीले ताइवानको विधायिकाको नियन्त्रण भने गुमाएको छ । उसले विधायिकाको ११३ सिटमध्ये ५१ सिट मात्र जितेको छ ।
कोमिन्ताङले ५२ सिट जित्ने अपेक्षा गरिएको छ भने तेस्रो पिपुल्स पार्टीले आठ सिट जितेको छ । कोमिन्ताङ पार्टीका राष्ट्रपति पदका उम्मेदवार हु–यु यीले विलियम लाइलाई बधाई दिँदै ताइवानका चुनौतीहरूको सामना सबै दलहरू मिलेर गर्नु पर्ने बताएका छन् । लाइले भने अमेरिकाजस्ता आफ्ना सहयोगीहरूलाई पूर्ववर्ती राष्ट्रपति साइ–इङ वेनको सन्तुलनमा राख्ने नीति अवलम्बन गर्ने बताउँदै आएका छन् ।