९ माघ, एजेन्सी ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदैछ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो ।
प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले आयुसलाई सम्मान गर्ने निर्णय गरेको हो । सम्मानको राशि नगद रु ५० हजार पाँच र सम्मानपत्र छ । राष्ट्रिय टिमका नियमित सदस्य घलाल हेटाँैडा उपमहानगरपालिका–१८ निवासी हुन् ।
सानो उमरेमा राष्ट्रिय टोलीमा स्थान बनाएका घलानले विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । उनले राष्ट्रिय टोलीबाट २२ खेल खेल्दै १ गोल गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहाराका अध्यक्ष केशवराज बरालले बताए ।
विसं २०७४ देखि सञ्चालित यस सम्मान हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् । आगामी माघ २० गतेसम्म हुने यस वर्षको आहा रारा पोखरा गोल्डकपमा आयोजकसहित १२ टिमले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबका बीचमा हुनेछ ।
विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । सहभागी प्रत्येक टोलीलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने बताइन्छ ।
प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु २० हजार दरले र क्वाटरफाइनलमा विजेता र पराजित दुवै टोलीलाई रु ३० हजार तथा सेमिफाइनलमा पुग्ने टोलीलाई रु ५० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।