९ माघ,एजेन्सी ।
म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ । मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो । घटनामा कम्तिमा ८ जना घाइते भएका छन् । विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् ।
आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको बताइएको छ । विद्रोहीको आक्रमणबाट बच्नका लागि गत १७ जनवरीमा म्यानमारका २७६ सैनिक भारतभित्र प्रवेश गरेका थिए । उनीहरू भारत प्रवेश गरी असम राइफल्ससँग शरण मागेको मिजोरम प्रहरीले जानकारी दिएको छ ।
तीमध्ये १८४ जनालाई सोमबार म्यानमार फर्काइएको थियो । बाँकी ९२ जनालाई आज फिर्ता लैजाने तयारी थियो । सोहीक्रममा विमान दुर्घटनामा परेको हो । यसअघि थाइल्याण्डबाट उडेको भारतकै गयाबाट इन्धन भरेर मस्कोका लागि उडेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको थियो ।
६ जना सवार सो विमान दुर्घटनाबाट चार जनाको जिवितै उद्यार गरिएको थियो । अन्य दुई जनाको अवस्था भने अज्ञात रहेको छ । यसअघि म्यानमारका सैनिक भारत प्रवेश गरेपछि भारतीय गृहमन्त्री अमित शाहले म्यानमारको सीमामा तारबार लगाउने बताएका थिए ।