१४ माघ, काठमाण्डौ ।
निमार्ण सम्पन्न नहुदै २ वर्ष अघि उद्घाटन गरिएको काठमाडौँको धरहरा अझै निर्माणाधीन अवस्थामा छ । तर निर्माण सम्पन्न नहुँदै धरहराको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ । गएको मङ्गलवारदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो ।
महानगरले यसअघि नै पुरानो बसपार्क क्षेत्रमा पनि पार्किङ सुविधा उपलब्ध गराएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ ।
शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाण्डौ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । त्यहाँ गएको दशैँदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको ठेकेदार कम्पनीले पाँचैपटक म्यादको प्रक्रिया अघि बढाएको छ ।
पछिल्लोपटक थपिएको म्याद पुस मसान्तमा सकिएसँगै म्याद थपको प्रक्रिया बढाएको हो । पाँचौँपटक म्याद थपका लागि प्रक्रिया अगाडि बढेको निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले जनाएको छ । हाल बगैँचा निर्माणका लागि फूल–बिरुवा रोप्ने काम, झिलिमिलिका लागि बत्तीको काम, धरहरापरिसरमा रहेको मेटलमा सिसा हाल्नेलगायतका काम रहेका छन ।
निर्माण कम्पनीका अनुसार धरहरा निर्माणमा अझै १० प्रतिशत काम बाँकी नै छ तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मै धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए । तर, टावरबाहेक अन्य संरचना निर्माण बाँकी रहेकाले सर्वसाधारणका लागि धरहरा खुला हुन सकेको छैन ।
४२ रोपनीमा फैलिएको धरहराको लागत अनुमान तीन अर्ब आठ करोड छ । जसमध्ये साढे दुई अर्ब अर्थात् ७९ प्रतिशत रकमको काम भइसकेको छ । धरहरा आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो ।
जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ४२ रोपनीमा विस्तार भएको हो । तत्कालीन पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । भित्र छिरेपछि दुई तला भूमिगत छ । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।
धरहरापरिसरमा रहेको सुन्धारा पुनर्निर्माण गलत तरिकाले भएको आरोपमा स्थानीयले विरोध गरेपछि काम रोकिएको थियो । निर्माण कम्पनीको कामविरुद्ध महानगरका मेयर बालेन्द्र साह (बालेन)ले समेत आपत्ति जनाएका थिए । भूकम्पले ढलेको धरहरा संरक्षण पनि उपयुक्त तरिकाले नभएको भन्दै स्थानीयले विरोध गरेपछि कम्पनीले काम रोकेको थियो । उक्त रोकिएको काम कहिले सुरु हुने भन्ने अझै यकिन भएको छैन ।