१५ माघ, एजेन्सी ।
चीनको तिब्बतस्थित कैलाश मान सरोवरको अब माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै दुरदर्शन गर्न सकिने भएको छ । श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान सुरु गरेको छ । नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७०० ९एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो ।
नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको पर्वतीय उडान सफल भएको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताएका छन् । कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको नेपाल तर्फबाट पहिलो पटक हो ।
नेपालगन्जबाट नेपाली, भारतीयसहित विदेशी धार्मिक पर्यटक आकर्षित गर्न सकिने एयरलाइन्सले जनाएको छ । सोमबार भएको उडानमा श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्टिालिटी ग्रुप नेपालगञ्ज र पाथहिल होलिडेज काठमाडौंको सहकार्यमा २७ हजार फिट उचाइबाट उडान गरिएको छ ।
उक्त उडानमा क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना रहेका थिए । ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिन्छ । श्रीएयरलाइन्सले नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपति समेत दर्शन गराउने योजना बनाएको छ ।
कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दुधर्मालम्बीहरुको पवित्र तीर्थस्थल हो । कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन । कोरोना संक्रमण सुरु हुनअघि नेपालगञ्जबाट सिमिकोट हिल्सा हुदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मान सरोवरको दर्शन गर्दै आएका थिए ।
ओमकार परिवारका सदस्यहरुमा कैलाश मानसरोवर तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिन्छ । प्राकृतिक रूपमा मनोरम सरोवरसँगै उत्तरमा अवस्थित कैलाश पर्वतले झन् हिन्दु र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्छ । समुद्री सतहदेखि चार हजार पाँच सय ५९ मिटर उचाइमा अवस्थित छ भने मानसरोवर तीन सय २० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।
यसकै उत्तरमा उभिएको कैलाश पर्वत ६ हजार ६ सय ३८ मिटर अग्लो छ । यसलाई हिन्दु, बौद्ध र जैन धर्मावलम्बीले पवित्र स्थलका रूपमा लिने गरेका छन् । यो तीर्थाटनले पाप पखालिन्छ भन्ने जनविश्वास छ । कतिसम्म भने एकपटक मानसरोवर कैलाश तीर्थाटन गर्दा सात जुनीमा गरिएको पाप पनि पखालिन्छ भन्ने धार्मिक विश्वास समेत रहिआएको छ ।