२० माघ ,काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौती दिएका छन् । आज बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चुनौती दिएका हुन् । पत्रकार सम्मेलनमा आएका प्रश्नहरूको जवाफमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको पनि बताए ।
‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन’, लामिछानेले भने, ‘छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ।’ आरोप लाग्दैमा प्रमाणित भएजसरी बुझ्ने परिपाटी भएको टिप्पणी गर्दै लामिछानेले भने, ‘रास्वपा यस्ता आरोपबाट डराउँदैन।’
सहकारीका विषयमा आएका समाचारबारे आफूले पत्रकार सम्मेलन गरेर तथा सामाजिक सञ्जालमार्फत प्रस्ट पारिसकेको दाबी पनि उनले गरे । रास्वपाको टोली अहिले अर्घाखाँचीमा घरदैलो गरिरहेको छ । यस्तै रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आइतबारदेखि २१ चैतसम्म चल्ने भएको छ ।
यसअघि नै २१ माघदेखि अभियान सुरु गर्ने तय गरे पनि रास्वपाले अवधिको टुंगो लगाइसकेको थिएन । २१ चैतसम्म तय भएको अभियान पहिलो चरणको हो । रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले सुरु गर्दैछन् ।
मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन÷तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ । विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।