२२ माघ ,काठमाण्डौ ।
आज देशभरका सिनेमा हल बन्द भएका छन् । नेपाल चलचित्र संघले आज देशभरका सिनेमा हल बन्द गरेको छ । सरकारले अव्यवहारिक कर लगाएको विरोधमा आज साङ्केतिक रूपमा मुलुकभरका फिल्म हल बन्द गरिएको संघले जनाएको छ ।
सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।
चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक कर खारेजीको माग पनि गरेको छ ।
कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा थिए । अहिले १५९ वटा फिल्म हल मात्र हल सञ्चालनमा छन् । नेपाल चलचित्र संघले केही दिन अगाडि एक दिनका लागि साङ्केतिक रुपमा फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिएको थियो ।
यसैबीच चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आज आफ्ना सबै हल बन्दको घोषणा गरेको छ । क्यूएफएक्सले आफ्नो साइटमा भनेको छ, ‘सरकारले अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसाय धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै सांकेतिकरुपमा विरोधस्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएका हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौं ।’