२६ माघ,एजेन्सी ।
घरेलु टिम बंगलादेशले रेफ्रीबाट भएको टसको निर्णय नमानेपछि साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि बाँडिएको छ । बिहीबार बंगलादेशको ढाकामा भएको फाइनलमा घरेलु टिम र भारतले खेलको निर्धारित समयमा १–१ को बराबरी खेलेका थिए । यसपछि खेल पेनाल्टीमा पुगे पनि टाइब्रेकरमा ११–११ को बराबरी भएको थियो ।
निर्धारित समय र पेनाल्टीमा पनि खेल बराबर भएपछि खेलको मुख्य रेफ्रीमा रहेकी नेपालकी अञ्जना राईले क्वाइन टसबाट उपाधि विजेताको छिनोफानो गरेकी थिइन् । राईले टस गर्दा भारत भाग्यशाली बन्दै विजेता चुनिएको थियो । तर, रेफ्रीको निर्णयप्रति असन्तुष्ट बनेको बंगलादेशले नतिजा अस्वीकार गरेपछि करिब अढाई घण्टासम्म पुरस्कार वितरण हुन सकेन ।
खेलका म्याच कमिस्नरले पहिले नतिजाका लागि टस गर्ने निर्णय गरे पनि पछि उक्त निर्णय फिर्ता लिँदै दुवै टिमलाई संयुक्तरूपमा विजेता घोषणा गरिएको थियो । खेलको निर्धारित समय १–१ र सडनडेथ ११–११ को बराबरीमा समाप्त भएपछि म्याच कमिस्नरले विजेताको टुंगो लगाउन टस गर्ने निर्णय गरेका थिए ।
तर, नियमअनुसार सडन डेथ निरन्तर हुने भएको हुँदा बंगलादेशले विरोध गरेको थियो । पछि म्याच कमिस्नरले पनि नियमअनुसार टस नहुने थाहा पाएपछि भारतसँग माफी माग्दै दुवै टिमलाई विजेता घोषणा गरेका हुन् । फेब्रुअरी २ देखि सञ्चालित यस प्रतियोगितामा कुल चार देशको सहभागिता थियो ।
सिंगल राउन्ड रोबिन पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको यस संस्करणमा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता थियो । नेपाल भने दुई हार र एक जित हात पार्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।
अन्तिम खेलमा भारतसँग ४–० गोलले पराजित भएको नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई १–० ले हराएको थियो । नेपालसँगै भूटान बाहिरिँदा बंगलादेश र भारत फाइनल पुगेका थिए । यसअघि भारत २०१९,२२ र २३ मा पनि यो उपाधि जितेको थियो भने नेपाल २०१५ र १७ मा च्याम्पियन बनेको थियो ।