Nepal Times
Nepal Times
3
Shares

गृह मन्त्रालय आफूले पाउनुपर्ने रविको अडान !

गृह मन्त्रालय आफूले पाउनुपर्ने रविको अडान !

२१ फागुन , काठमाण्डौ ।

एक वर्षपछि आज पुनर्जीवित भएको नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले उक्त कार्यदल बनाएको हो ।

यो कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन अनन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । चार सदस्यीय यो कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफल गरेर शक्ति बाँडफाँटको समेत टुंगो गर्नेछ ।

त्यस्तै मन्त्रालय भागबन्डासहितका विषयमा लागि यो कार्यदलले नयाँ गठबन्धनका सबै दलसँग पहल गर्ने बताइएको छ । यो कार्यदलले मन्त्रालयको बाँडफाँट गरेर त्यहीअनुसार सत्ता सहकार्य अघि बढाउने गरी शीर्ष नेताहरूमा प्रतिवेदन दिने भएको छ । एमालेसहितको गठबन्धन फर्किएपछि सोमबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्रीको शपथ लिने भएका छन् ।

कार्यदलमा रहेका चारैजना नेताहरू पनि नयाँ गठबन्धनबाट मन्त्रीका दाबेदार हुन् । पौडेल र पुनमध्ये एकजना अर्थमन्त्री हुने निश्चित छ । उता रास्वपा सभापति लामिछानेले फेरि गृहमन्त्रालयमा दाबी गरेका छन् । यसबारे टुंगो गर्ने जिम्मा प्रचण्डले ओलीलाई दिएका छन् ।

कार्यदलमा रहेकासहित केही सिनियर नेताहरूले भने दोस्रो चरणमा मन्त्रीको शपथ लिने भएका छन् । कार्यदलको जिम्मेवारी पूरा गरिसकेपछि मात्रै अर्को चरणमा उनीहरूले मन्त्रीको जिम्मेवारी सम्हाल्ने नेताहरुले बताएका छन् । तर नयाँ गठबन्धनमा गृह मन्त्रालय कसले लिने भन्ने विषयमा गठबन्धनको ठूलो दल एमाले र तेस्रो दल रास्वपाबीच विवाद देखिएको छ ।

गत वर्षको पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा भएको सहमतिमा गठबन्धन पुगेको बताइरहँदा रास्वपाले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेको हो । त्यतिबेला रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका थिए ।

त्यसैलाई आधार मानेर रास्वपाले उपप्रधानसहित गृह मन्त्री आफूहरुले पाउनुपर्ने अडान राखेको छ । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैंले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन् । तर, एमालेले पनि गृहमन्त्रीमा आफ्नो दाबी राखिरेहको छ ।

अर्थमन्त्री माओवादीले राख्ने भएपछि एमालेले अर्को महत्वपूर्ण मन्त्रालय नछाड्ने अडान राखेको हो । एकीकृत माओवादीका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने सम्भावना बलियो छ । यता रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.