२२ फागुन, काठमाण्डौ ।
नयाँ सत्ता समीकरणमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नालागि ४ मन्त्रालय मागेको छ । जसमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालयमा उसको दाबी छ । सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको रास्वपाले भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि मागेको छ ।
रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् । निर्णय हुन बाँकी छ । “गृहसहित पर्यटन‚ भौतिक पूर्वाधार‚ सहरी विकास मन्त्रालय लिने विषयमा छलफल भइरहेको छ‚” उनी निकट एक नेताले भने । रास्वपाले गृह मन्त्रालय जुनसुकै हालतमा आफूले पाउनुपर्ने अडान राखेको छ ।
नेकपा (एमाले)को पनि यही अडान छ । यता हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि गृह मन्त्रालय नछाड्ने मनस्थिति बनाएका छन् । यसका लागि आज उनी एमाले अध्यक्ष केपी ओलीलाई मनाउँन भन्दै बालकोट पनि पुगेका थिए । गृह मन्त्रालय आफूलाई दिन प्रस्ताव गर्दै बालकोट पुगेका माओवादी केन्द्रका उपाध्यक्षलाई एमाले अध्यक्षले भने निराश पारेका छन् ।
उनले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बनाउनुपर्ने जवाफ दिएका हुन् । ओलीले गृह नै चाहिने भए रवि लामिछानेसँग कुरा गर्न पनि श्रेष्ठलाई सुझाए । गृह नपाइने जस्तो भएपछि श्रेष्ठले अर्थ मन्त्रालयको प्रस्ताव ओलीसमक्ष गरेका थिए ।
अर्थबारे प्रधानमन्त्री प्रचण्डसँगै कुरा गर्न भनेपछि श्रेष्ठ बालकोटबाट बाहिरिएका थिए । यता नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।