२५ फागुन , काठमाण्डौ ।
पार्टी भित्र र बाहिरबाट समेत सरकारमा जान नहुने सुझाव रहदा रहदै देशको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी आफूले रोजे अनुशारकै ४ मन्त्रालय लिएर सरकारमा गएको छ । पूराना नेतृत्वबाट परिवर्तन र जनताका अपेक्षा पूरा नहुने भन्दै बहुमतिसहितको सरकार बनाउने लक्ष्यका साथ मिसन ८४ चलाइरहेको दल अप्रत्यासित रुपमा सरकारमा गएपछि आशा र आलोचना दुवै बढेका छन् ।
जनताका यस्तै विभिन्न आशंकाहरुलाई सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मेट्ने प्रयास गरेका छन् । लामिछानेले आफू सरकारमा कामको चेकलिष्टसहित आएको तर केही समय होमवर्कमै रहेको दाबी गरेका छन्। बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रवि लामिछानेले यस्तो दाबी गरेका हुन्।
गृहसहित चार मन्त्रालय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा गएपछि लामिछाने आफूसहित सबै मन्त्रीहरु चेक लिस्टसहित आएको दाबी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौं। कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं।’
कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिएर सरकारमा भएको छ। रास्वपा प्रचण्ड सरकारमा गएको भन्दै आलोचना भइरहेको बेलामा उनले कम्प्रोमाइज नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेको नेतृत्वमा विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र डिपी अर्याल सरकारमा सहभागी भएका छन्।
रवि गृहमन्त्री र अर्याल श्रम मन्त्रीमा दोहोरिएका हुन् भने विराज र सुमना पहिलो पटक सरकारमा सहभागि भएका हुन् । रवि जस्तै अन्य मन्त्रीहरुले पनि कर्मचारीहरुसँगको समन्यवयमा आगामी कार्ययोजना बनाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा महत्वपूर्ण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयको जिम्मेवारी पाएकी सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् ।
स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै मन्त्री श्रेष्ठले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् । ‘स्थायी सरकार भनेको ब्यूरोक्रेसी हो । पहिला टिमसँग बस्छु । अपडेट लिन्छु । बेसलाइन के हो ? थाहा पाउँछु । बेसलाइन थाहा पाएपछि सबैभन्दा पहिला के गरेपछि रिजल्ट आउँछ । त्यसपछि कार्ययोजना बनाउँछु’ मन्त्री श्रेष्ठले भनेकी छन् ।
केही दिनमा कार्ययोजना बनाएर त्यसपछि सार्वजनिक गर्ने उनको भनाई छ । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्राथमिकतामा राखेर काम गर्ने समेत बताएकी छन् । अब सरकारको सजिलो बाटो नभएको तर, सबैको साथ, सहयोग र सहकार्यबाट सफलतामा पुग्न सकिने उनको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाबाट मन्त्री बनेकाहरुसँग उनीहरुले जनाएका प्रतिवद्धताकै आधारमा जनअपेक्षा बढेको छ ।