Nepal Times
Nepal Times
3
Shares

सन्दीपलाई १३ वर्ष कैद सजायको माग, ‘गौशाला २६’ नाबालिग

सन्दीपलाई १३ वर्ष कैद सजायको माग, ‘गौशाला २६’ नाबालिग

१ चैत, काठमाण्डौ ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन गरिएको हो । उच्च अदालत पाटनका सूचना अधिकारी तीर्थराज भट्टराईका अनुसार सरकारी वकिलले बुधबार नै जिल्लाको फैसलाविरुद्ध अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।

सन्दीपले भने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् । सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय नभएको जिकिर गर्दै अधिकतम सजाय माग गर्दै पुनरावेदन दिएको हो । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै गएको पुस २५ गते आठ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति हुने फैसला गरेको थियो ।

सन्दीपबाट बलात्कार ठहर भएकी ‘गौशाला २६’ नाबालिग भएको दाबी गरिए पनि काठमाडौं जिल्ला अदालतले तेस्रोपटक मगाएको जन्मदर्ताको कागजानुसार बालिग भएको ठहर गरेको थियो । सरकारी वकिलले उनी बलात्कारमा परेका बखत नाबालिग भएकाले सन्दीपलाई १३ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरेको छ ।

काठमाडौं जिल्ला अदालतको फैसला बदर हुनुपर्ने उसले माग दाबी गरेको छ । बालिग ठहर भएर पनि आफूमाथि सजाय भएको भन्दै सन्दीपले फैसला बदरको माग दाबीसहित यसअघि नै पुनरावेदन गरिसकेका छन् । सन्दीपविरुद्धको मुद्दा उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले हेरेको उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।

सन्दीपले भने आफू निर्दोष भएको र किशोरीमाथि जबर्जस्ती करणी नभएकाले सफाई पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ । पुनरावेदनको फैसला नआएसम्म सन्दीप जेल भने जाने छैनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.