Nepal Times
Nepal Times
3
Shares

रविले समाते ठूलो माछा, सत्तारुढ नेता नै पक्राउ

रविले समाते ठूलो माछा, सत्तारुढ नेता नै पक्राउ

चैत ५ , काठमाण्डौ ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । पूर्वसभामुखसमेत रहेका महरालाई प्रहरीले सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा पक्राउ गरेको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अहिलेसम्म पक्राउ परेका अभियुक्त मध्ये उच्च राजनीतिक ब्यक्ति हुन् । महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका हुन् ।

यसअघि उनी बलात्कारको आरोपमा १३३ दिन थुनामा बसेका थिए । पूर्वसभामुख समेत रहेका नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए । दोस्रो पटक उनी सोमबार रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन् । महरालाई सोमबार नै भैरहवाबाट काठमाडौँ ल्याएर अनुसन्धन प्रक्रिया अघि बढाइएको छ ।

भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नेता महराका छोरालाई यसअघि नै पक्राउ गरिसकेको थियो ।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन् ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् । साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो । महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटकपटक कुराकानी भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबु–छोराले पटकपटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएका थिए ।

चिनियाँ तस्कर समूहले भेप छुटाउने प्रयास गरिरहँदा विमानस्थलकै कर्मचारीहरूले भेपभित्र सुन रहेको थाहा पाएका थिए । त्यसपछि सुन चोरी गरी अर्कै भेप राखिएको थियो । भेप नै चोरी भएको थाहा पाएपछि भन्सार कार्यालयले छानिबन गर्न सिआइबीलाई अनुरोध गरेको थियो। त्यसमा संलग्नहरूलाई पक्राउ गरेपछि महरा–बाबु छोरा र चिनियाँ तस्कर समूहबारे खुलेको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.