Nepal Times
Nepal Times
3
Shares

वाङ यीले नारायणकाजीलाई किन चीन बोलाए ?

वाङ यीले नारायणकाजीलाई किन चीन बोलाए ?

८ चैत , काठमाण्डौ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयकाअनुसार उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जान लागेको बताइएको छ । यो सद्भाव भ्रमण हुने भनिएको छ । चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले मानसरोवर पनि जाने तयारी गरेका छन् ।

हालसम्म विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता हुने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल हुने तय भएको छ । “चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता हुने वा नहुने भन्ने तय भइसकेको छैन,” मन्त्रालयका एक अधिकारीले भने । कांग्रेससंगको पूरानो गठबन्धन तोडेर एमालेसहित पाँच दलिय नयाँ गठबन्धनको सरकार बनेपछि चीन सकारात्मक देखिएको छ ।

उसले नयाँ सरकारलाई बधाई सन्देश पठाएको छ । अहिलेको कम्युनिष्ट सरकार बन्नुका पछाडि चीनको सदासहायता रहेको पनि विश्वास गरिन्छ । यद्यपि यो विषयलाई प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेका छन् । यसबीच नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नयाँ मन्त्रीहरुसंगको भेटघाट तिव्र पारेका छन् ।

मंगलबार उनले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटेका थिए । उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए । चक्रपथ विस्तार मात्रै होइन, राजदूत सोङले चिनियाँ सहयोगमा निर्माण भइरहेका परियोजनाहरुमा सहजीकरण गरिदिने प्रतिबद्धता जनाए । चिनियाँ कम्पनी संलग्न रहेका आयोजनामा समेत गति दिने उनले बताए ।

रसुवागढी–काठमाडौं विद्युतीय रेलमार्ग, अरनिको राजमार्गलगायत समेत अघि बढाउने विषयमा सकारात्मक छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । मंगलबार नै राजदूत सोङले अर्थमन्त्री वर्षमान पुनलाई भेटे । राजदूत सोङले जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० किलोभोल्ट अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढ्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा त्यसबारे द्विपक्षीय सहमति भएको थियो । अर्थमन्त्री पुनसँगको भेटमा राजदूत सोङले चीन–नेपाल सम्बन्ध उचाइमा पु¥याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए ।

चिनियाँ राजदूतावासले ‘ग्रिन सिग्नल’ दिएसँगै ५०० वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणको प्रस्ताव समेत नेपालले पठाउँदै छ । विद्युत प्राधिकरणले प्रस्ताव तयार पारेर ऊर्जा मन्त्रालय पठाइसकेको छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई जोडेर चीनले ऋणको पासोमा ‘डेप्ट ट्रयाप’ मा पार्न खोजेको चर्चा बढेका बेला चीनले यसमा पनि प्रष्टीकरण दिएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले पनि यो चिनियाँ ऋणलाई अनुदानमा बदल्ने प्रयासमा आफू रहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.