Nepal Times
Nepal Times
3
Shares

आयरल्यान्डसँग नेपाल २१ रनले पराजित, १६ ओभरपछि चलेन ब्याट

आयरल्यान्डसँग नेपाल २१ रनले पराजित, १६ ओभरपछि चलेन ब्याट

१६ चैत , काठमाण्डौ ।
आयरल्यान्ड–उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ’ए’ टोली पराजित भएको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २१ रनले पराजित भयो ।

आयरल्यान्ड–उल्भसले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ’ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयो । नेपालका लोकेश बमले शतक बनाए । लोकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए ।

तर उनको उत्कृष्ट शतकका बावजुद नेपाल पराजय भोक्न विवश भयो । यस्तै आरिफ शेखले ४९ रन बनाए । टोलीले ६८ रनमा ३ विकेट गुमाएको अवस्थामा लोकेश र आरिफले ४४ बलमा १ सय २१ रनको साझेदारी गरे ।

आयरल्यान्ड–उल्भ्सका फियोन ह्यान्ड र म्याथ्यु हमफ्रेसले समान ३ विकेट लिए । जितनजिक पुगेर हार बेहोर्दा नेपाली टिमबाट उत्कृष्ट ब्याटिङ गरेको लोकेश बमको शतक खेर गएको छ ।

१६ ओभरमा १८९–४ रनको सहज अवस्थामा रहे पनि यसपछि लगातार विकेट जाँदा नेपालले खेल गुमाएको हो । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा नेपालले १६ ओभरपछि बाउन्ड्री नै प्रहार गर्न सकेनन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो ।

आयरल्यान्ड–उल्भ्सका पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए ।

बलिङतर्फ नेपाल ’ए’ का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए । टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ ।

यसैगरी नेपालको ’ए’ टोली र आयरल्यान्ड–उल्भ्सबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो । राष्ट्रिय क्रिकेट टोलीभने अहिले मैत्रीपूर्ण खेलमा लागि भारत गएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.