Nepal Times
Nepal Times
3
Shares

रवि पत्नी पनि सहकारीमा, बालेनले हाने छापा

रवि पत्नी पनि सहकारीमा, बालेनले हाने छापा

२२ चैत , विराटनगर ।
माओवादी, एमालेसहितको सत्ता गठबन्धनमा सहभागी भएर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बनेका रास्वपा सभापति रवि लामिछाने यतिबेला संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको कोपभाजनमा परेका छन् ।आएदिन काँग्रेसले उनको राजीनामा माग्दै सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन माग गरिरहेको छ । बुधबार त काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले दिएको अन्तिम अल्टिमेटम पनि सकिसकेको र सदनको आगामी बैठक समिति नबनी बसे चल्नै नदिने चेतावनी नै दिएका छन् ।

रविकै कारण संसदमा काँग्रेसले अवरोध जारी राखेर सरकारलाई दबाव दिइरहँदा यता रवि पत्नी निकिता पौडेलको नाम पनि एउटा सहकारी ठगी प्रकरणमा आएको छ ।निकिता पूर्वउपाध्यक्ष रहेको सहकारी ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’ का बचतकर्ताहरुले यो सहकारीले आफूहरुको बचत हिनामिना गरेको भन्दै उजुरी गरेका छन् ।

काठमाडौंमा रहेको यो सहकारीबारे उजुरी आएपछि मेयर बालेन्द्र शाहले नेतृत्व गरेको महानगरपालिकाले यसमा छापासमेत हानेको छ । तर महानगरका अधिकारीहरु त्यहाँ पुग्दा संस्थाले महत्त्वपूर्ण कागजात लुकाएको पाइएको छ ।बुधबार काठमाडौं महानगरपालिका सहकारी विभाग अनुगमनमा जाँदा निकिता पौडेल पूर्वअध्यक्ष रहेको ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले आवश्यक कागजात लुकाएको हो ।

बुधबार सहकारीमा आवश्यक कागजात नपाएपछि आज पनि महानगरको टोली सो सहकारीमा अनुगमनमा पुगेको थियो । टोलीले संस्थाका कर्मचारीलाई फेला नपरेको कागजात खोजेर राख्न निर्देशन दिएको छ ।सो नभेटिएको खण्डमा कानुनी सहायता लिनु पर्ने हुनसक्छ, महानगरका प्रवक्ता नवीन मानन्धरले भने । कागजात संकलन गरेपछि सहकारीबाट ठगिएका बचतकर्ताले दिएको उजुरीका आधारमा प्रतिवेदन तयार पर्ने महानगरले जनाएको छ ।

प्रतिवेदन तयार पार्दा संस्थाका सञ्चालकलाई बयानका लागि बोलाइने पनि बताइएको छ । त्यसमा लामिछाने पत्नी पौडेले पनि पर्ने देखिन्छ । सहकारीमा समस्या देखिँदै बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थाकी उपाध्यक्ष समेत रहेकी पौडेलले गत वर्ष राजीनामा दिएकी थिइन् ।उक्त सहकारी काठमाडौं महानगरपालिकाभित्र कार्यक्षेत्र भएको संस्था हो । उनले राजीनामा दिएको विषय महानगरपालिकालाई भने जानकारी नगराएको खुलेको छ ।

उपाध्यक्ष रहँदा निकिताले बिनाधितो ५० लाख रुपैयाँ प्रयोग गरेको पाइएको महानगरका कर्मचारीको दाबी छ । संस्थाले ५ करोडको कारोबार गर्ने गरेको पाइएको छ । भरतमणि जंगम अध्यक्ष रहेका बेला ०७५ देखि ०७९ सम्म निकिता सहकारीमा उपाध्यक्ष थिइन ।भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनिने भरतमणि कुनै बेला न्युज २४ टेलिभिजनमा कार्यक्रम पनि चलाउँथे ।

वर्तमान गृहमन्त्री लामिछानेसँग त्यही टेलिभिजनमा मित्रता बढेपछि सहकारीको ऋण दिलाउन आफूले सहयोग गरेको बयान उनले महानगरलाई दिएको अधिकारीहरूले बताएका छन ।निकिताका नाममा भएको उक्त कारोबार फर्छ्योट भएको जानकारी पनि भरतमणिले दिएका छन । तर, उपाध्यक्ष स्वयम्ले धितो नराखी ५० लाख लिएको र त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह हुँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी गरेका छन ।

निकिता ०७५ सालमा संस्थाका उपाध्यक्ष थिइन । भरतमणि र निकिता अहिले सहकारीको पदाधिकारी छैनन । तर, कारोबार बिग्रिएकाले एक सर्वसाधारण महिला निमकुमारी छन्तेललाई अध्यक्ष बनाइएको छ, जबकि संस्थाले सात करोड रुपैयाँ बचत तिर्न बाँकी छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त सहकारीको दर्ता, सञ्चालक समिति, कारोबारलगायत विवरण उपलब्ध गराउन भन्दै गत मंसिर २१ मा काठमाडौं महानगरलाई पत्राचार गरेको थियो ।

‘त्यस महानगरपालिकाअन्तर्गत साई स्वागत बचत तथा ऋण सहकारी संस्था दर्ता भए नभएको, दर्ता भएको भए सोको पदाधिकारीहरूको विवरण खुलाई उक्त सहकारीविरुद्ध त्यहाँ कुनै उजुरी परे–नपरेको सम्बन्धमा खुलाई उजुरी परेको भए सोको एक प्रति अनुसन्धान प्रयोजनका लागि यस विभागमा पठाइदिनु भई सहयोग गरिदिनुहुन अनुरोध छ,’ विभागले महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ।

तर यो संस्थाका बारेमा त्यसअघि र पछि पनि महानगरमा उजुरी परेको थियो । आफ्नो कार्यक्षेत्रमा रहेका सहकारीमा धेरै ठगीको गुनासो बढेपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले अनुगमनलाई तिब्रता दिन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।सोही अनुसार नै महानगरको सहकारी विभागले पहिलो पटक साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट अनुगमन सुरु गरेको हो । बालेनको निर्देशनमा पहिलो चरणमा ४० वटा संस्थाको अनुगमन गर्न लागिएको हो ।

महानगरको सहकारी विभागका प्रमुखसहित चार जना, नगर प्रहरीका तीन जना र सीए र जिल्ला सहकारी संघ काठमाडौंका प्रतिनिधि सहितको टोली अनुगमनमा गएको हो । हाल काठमाडौं महानगरपालिकाको कार्य क्षेत्रमा १९ सय भन्दा बढी सहकारी संस्था रहेका छन् ।रवि पत्नीसहित फरक फरक सहकारी ठगी प्रकरणमा मुछिदा यता रास्वपाका उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन ।

काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन ।यो सहकारी माओवादी उपमहासचिव एवं ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा स्थापना भएको थियो । यो संस्थामा बस्नेतले पार्टीका कार्यकर्ता र परिवारका सदस्यलाई समेत विभिन्न भूमिकामा राखेका थिए ।

यो सहकारी संकटमा परेपछि उनीमाथि पनि प्रश्न उठेको छ । शक्तिबहादुर बस्नेतले छाडेपछि सूर्यबहादुर गुरुङ र हाल फरार रहेका जीबी राई अध्यक्ष भएका थिए ।अर्याल र बुर्लाकोटी राजनीतिमा लाग्ने भएपछि योजनाबद्ध रूपमै संस्था जीबी राईलाई सुम्पिएको बचतकर्ताहरूको भनाइ छ । तर त्यसअघि संस्थामा गुरुङ अध्यक्ष, अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक भएको बेला रकम हिनामिना गरिएको साढे चार करोड नदिएको भन्दै उजुरी परेको छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद। नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.