२५ चैत,काठमाण्डौ ।
काठमाडौँ महानगरपालिकाले आजदेखि गरिब घर परिवार गणना सुरु गरेको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीति कार्यान्वयनको लागि आजबाट महानगरभित्र बसोबास गर्ने गरिब घर परिवारको तथ्यांक लिन लागिएको महानगरपालिकाले जनाएको छ ।
बालेन्द्र शाह बालेन नेतृत्वको महानगरले गणनाबाट प्राप्त हुने तथ्याङ्कअनुसार महानगरले नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने तयारी गरेको छ । यसका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना गणकलाई प्रशिक्षक दिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गरिब गणनाका लागि अन्तिम पालिका हो ।
यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ । सरकारले देशका ४९ जिल्लाका गरिब घरपरिवारमा परिचयपत्रसमेत बाँडिसकेको छ । १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लामा पनि गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । गरिव परिवारका तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको थियो ।
महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर रहेको तथ्याक छ । १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइने महानगरले जनाएको छ । सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१÷२१ जना खटिनेछन्। वडा नं. ६ र ३१ मा १४÷१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०÷१० जना जनशक्ति परिचालन हुनेछन् ।
यस्तै वडा नं. २६ र १३ मा ९÷९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८÷८ जना जनशक्ति खटिनेछन् । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५÷५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३÷३ जना खटिनेछन् । वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २÷२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १÷१ जना जनशक्ति खटिने महानगले जनाएको छ ।