२६ चैत ,काठमाण्डौ।
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्दै आएको स्वीजरल्यान्डस्थित आईक्यूएयरका अनुसार काठमाडौँ वायु प्रदूषणको दृष्टिले विश्वकै तेस्रो स्थानमा पुगेको छ । विश्वमै अस्वस्थकर वायुको पहिलो स्थानमा भारतको नयाँदिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई शहर छ ।
चीनको बेइजिङ विश्वकै प्रदूषित शहरको सूचीको १५औँ नम्बरमा छ । सोमबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको आईक्यूएयरले जनाएको छ । १५१ देखि २०० एक्यूआई गुणस्तरको वायुलाई अस्वस्थकर मानिन्छ । आईक्यूएयरले अस्वस्थकर वायुलाई रातो रंगले चित्रित गर्ने गरेको छ । विश्वमै सबैभन्दा प्रदूषित नयाँदिल्लीको एक्युआई २४४ छ ।
यो अत्यन्तै अस्वस्थकर वायुको अवस्था हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिने विज्ञहरु बताउँछन् ।
हरेक वर्ष चैतको बेला काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ । काठमाडौँ उपत्यकामा बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्यधिक बढ्ने गरेको विज्ञहरुको भनाई छ । वायु प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी यसबाट बढी प्रभावित हुने गरेका छन् ।
प्रदूषणको बेला सकेसम्म घरबाहिर ननिस्किन र निस्कनुपरे पनि मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् । वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । २०७७ साल चैतमा काठमाडौंको वायु प्रदूषण उच्च भएपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
नेपालमा वायुको गुणस्तर मापन गर्ने विभिन्न स्टेसनहरु छन् । तीमध्ये ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग अन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार बिहानपख खुमलटारको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१० पुगेको थियो ।
खुमलटार क्षेत्रमा अत्यन्त अस्वस्थकर वायु रहेको जनाउ दिन यसलाई भान्टा रंगले चित्रित गरिएको छ । यसैगरी रत्नपार्कको १७२, शंखपार्कको १६६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १६६, भैंसेपाटीको १६५, भक्तपुरको १६० र धनकुटाको १५२ छ ।