२६ चैत, काठमाण्डौ।
नेपालमा विद्युतको प्रर्याप्तता र देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशनहरु संचालनमा आएसँगै विद्युतीय सवारी साधनको माग बढिरहेको अवस्थामा अब थप चिनियाँ विद्युतीय भ्यानहरु समेत नेपाली बजारमा आउने भएका छन् । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) सँगको सम्झौता अनुशार नेपालको लागि आधिकारिक बिक्रेता मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्ने भएको हो ।
यसका लागि विद्युतीय भ्यानहरु भित्र्याउनका लागि आधिकारिक बिक्रेताका रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुबीच यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको मेगा मोर्टसका प्रवन्ध निर्देशक महेश पलले जानकारी दिएका छन् । व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ ।
६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटकको फुल चार्जमा २८५ किलोमिटर रेञ्ज , लिथिएम आएन ब्याट्री प्याक, २०५ एम. एम. ग्राउण्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका प्रमुख विशेषताहरु हुन् । यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन ।
११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । चीन सरकारद्वारा सञ्चालित सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरु मध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित सीएचटिसी मोटर्स चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो । अप्रिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने निर्देशक पलले बताएका छन् ।
भन्सार विभागको पछिल्लो तथ्याङ अनुशार नेपालमा एक दशकमा ४६ हजारभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिसकेका छन् । विद्युतीय सवारीको प्रयोगले इन्धनको खपत घट्दा यसबाट नेपाललाई वार्षिक सरदर ६ अर्बको इन्धन खर्च बचत भइरहेको अनुमान छ । विद्युतीय सवारीले वार्षिक २ करोड ६३ लाख भन्दा बढी युनिट विद्युत खपत गरेका छन् । यसबाट विद्युत प्राधिकरणले वार्षिक ३९ करोड ४९ लाख भन्दा बढी महसुल उठाएको छ ।