Nepal Times
Nepal Times
3
Shares

आज पनि हावाहुरी र वर्षा

आज पनि हावाहुरी र वर्षा

३० चैत , काठमाण्डौ ।

काठमाडौँ उपत्यकामा आज पनि हावाहुरी र वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अपराह्नदेखि साँझसम्ममा काठमाडौँ उपत्यकामा हावाहुरी तथा हल्का वर्षा हुने सम्भावना छ । आज बिहान भने काठमाडौँ उपत्यकामा तुवाँलो लागेको थियो । दिउँसोपछि भने आकाशमा बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद्को भनाइ छ ।

हिजो पनि काठमाडौँ उपत्यकामा सामान्य हावाहुरी र हल्का वर्षा भएको थियो । महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार उपत्यकामा बिहीबार सबैभन्दा बढी सुन्दरीजलमा १२ मिलिमिटर वर्षा भएको छ । त्यसपछि कीर्तिपुरमा ११.८ मिलिमिटर, बूढानीलकण्ठमा ४.६ मिलिमिटर पानी परेको छ ।

यस्तै काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भयो । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ । बाग्मती, कोशी र गण्डकीका अरु ठाउँमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा दिउँसोपख हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा पनि फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएको छ । अहिले प्रिमनसुनको समय भएकाले दिउँसोपख बदली भएर हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना केही दिनसम्म रहीरहने मौसमविद गोविन्द झाले जानकारी दिए ।

यसैबीच हिजोको वर्षाले काठमाण्डौ उपत्यकाको प्रदूषण घटाएको छ । वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेपछि प्रदूषण केही कम हुन थालेको हो । केही दिनयता पानी नपर्दा र हावा नचल्दा काठमाण्डौ विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १५७ मा झरेको छ ।

हिजो दिउँसोसम्म एक्यूआई दुई सयभन्दा माथि थियो । एक्यूआई दुई सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.