३ वैशाख ,काठमाण्डौ।
कांग्रेससहितको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनेतृत्वको सरकार र गठबन्धनमा विद्रोह सुरु भएको छ । केन्द्रमा भएको सहमति विपरित सुदूर पश्चिममा मुख्यमन्त्री आफूले पाउनु पर्ने अडानमा रहेको सत्तारुढ दल नेकपा एसले मुख्यमन्त्री आफूले नपाउने भएपछि कांग्रेसपक्षका नागरिक उन्मुक्तिका मुख्यमन्त्रीका उम्मेदवारलाई समर्थन गरेको छ ।
गठबन्धनले भने उन्मुक्तिका रन्जिता पक्षधर नेतालाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । तर माधव नेपाल नेतृत्वको नेकपा एसले भने कांग्रेस समेतको समर्थनमा मुख्यमन्त्रीको उम्मेदवार बनेका उन्मुक्तिका रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गरेपछि दुई महिना नबित्दै नयाँ गठबन्धनमा नयाँ विद्रोह सुरु भएको छ ।
नेकपा एसको यो व्यवहारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अराजनीतिक घटनाभन्दै आलोचना गरेका छन् । ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा कांग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
संसदीय दलको बैठकमा बोल्दै उनले कांग्रेस नजिक भएर सत्ता समिकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन् । उनले सुदूरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रित समिकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगबाट प्रकट भएको जिकिर गरेका छन् ।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमाथि उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले गठबन्धनको विकल्प सोच्न दबाब बढाएका छन् ।सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा नेकपा एसका प्रदेश सांसदहरूले हस्ताक्षर गरे लगत्तै अन्य प्रदेशमा पनि समर्थन फिर्ता लिन दबाब बढिरहेको पाण्डेले बताएका छन् ।
गण्डकीबाहेक अन्य प्रदेशमा नेकपा एसको कम्तीमा एक सीटदेखि बढीमा ७ सीटसम्मको उपस्थिति छ । संघमा भने १० सिट रहेको छ । बागमतीमा नेकपा एस निर्णायक संख्यामा रहेका कारण बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । नेकपा एसका सचिव समेत रहेका सांसद मेटमणि चौधरीले त नेकपा एस बाहिरिएपछि जसपा पनि सरकारमा नरहने र प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेससहितको समर्थनमा माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति आउने उनको दाबी गरेका छन्।
सुदूरपश्चिमको मुख्यमन्त्री दिने अडानबाट ओली र प्रचण्ड पछि हटेर नागरिक उन्मुक्तिलाई दिएपछि माधव नेपाल सोमबार बालुवाटार बैठक छाडेर हिँडेका थिए । त्यस लगत्तै प्रदेश सरकार गठनमा नागरिक उन्मुक्तिकै रेशम चौधरी पक्षलाई कांग्रेस र नेकपा एसले समर्थन जनाएका थिए ।
प्रदेश सरकार गठनका लागि नाउपाका २ जनाको अलग अलग दाबी आएपछि प्रदेश प्रमुखले कानूनी परामर्श गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टी रेशम वा रन्जिता कसको कब्जामा जान्छ,त्यसको वैधानिक टुंगो भएपछि राजनीतिले फरक कोर्ष लिने दाबी समेत गरिएको छ । किनकि एमाले, माओवादी र रास्वपाबाहेकको बहुमत जुटाउन नागरिक उन्मुक्ति आवश्यक पर्छ ।
नेकपा एस नयाँ ढंगले अघि बढेपछि मधेश, बागमती र लुम्बिनी प्रदेशमा पनि सरकार फेरिन सक्छ । कोशीमा समेत नेकपा एसले गठबन्धनबाट विद्रोह गरेको छ । माओवादी सरकारबाट बाहिरिएपनि नेकपा एसले कोशी सरकार अझै छाडेको छैन् । उता गठबन्धन भत्काउने लक्ष्यमा रहेको नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा साथ दिने निर्णय गरेको छ ।
काङ्ग्रेस नागरिक उन्मुक्ति र राप्रपासहितको समर्थनमा हिजो चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नाउपाकै अर्का सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।