Nepal Times
Nepal Times
3
Shares

उपेन्द्रको ६५ दिने उपलब्धिः विदेश भ्रमण, आफ्नाको सरुवा

उपेन्द्रको ६५ दिने उपलब्धिः विदेश भ्रमण, आफ्नाको सरुवा

३१ वैशाख , काठमाण्डौ ।

पार्टी विभाजनसँगै सत्ताबाट बाहिरिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पुराना सहयात्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पुगेका छन् । ठाकुर निवास पुगेरै यादवले भेटवार्ता गरेका हुन् । नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ ।

विगतमा ठाकुर र यादव एकै दलमा रहेका थिए । कुनै समय उनले लोसपालाई सरकारमा जान रोक्नका लागि भूमिका समेत खेलेका थिए । यही घटनाले ठाकुरले उपेन्द्रलाई विगत सम्झाउँदै जसपा नेपालसँग तत्काल कुनै सहकार्य गर्न नसकिने जवाफ फर्काएको स्रोतले बताएको छ । आफूलाई पटकपटक धोका दिएको विगत सम्झिँदै अध्यक्ष ठाकुरले सहकार्यको बारेमा तत्काल ‘हुन्छ’ भन्न नसक्ने जवाफ दिएका थिए ।

अप्ठ्यारो परेको बेला सहकार्यको हात बढाउने तर अवस्था सहज हुने बित्तिकै कसैको नसुन्ने उनको पुरानो बानीले तत्काल सहकार्य मुस्किल रहेको जवाफपछि उपेन्द्रजी फर्किनु भएको बैठकमा सहभागी एक लोसपा नेताले बताएका छन् । मधेस प्रदेश सरकारबाट एमाले र माओवादीले आइतबार समर्थन फिर्ता लिएपछि जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ ।

आफ्नो क्षेत्रमै सत्ताबाट बाहिरीने अवस्था आएपछि यादव रन्थनिएका छन् । उनले मधेश सरकार जोगाउन ठाकुरसँग सहयोग मागेका थिए ।मधेश प्रदेशमा लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८ सांसद मधेशमा रहेका छन् । दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनामै यादव सरकारबाट बाहिरिएका छन् ।

यादव गत २७ फागुनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त भएका थिए । उनी मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै अमेरिका भ्रमणमा गएका थिए । सामान्यतया यो कार्यक्रममा मन्त्रीस्तरीय सहभागिता अनिवार्य नभए पनि उनी मन्त्रालयको टोलीसहित अमेरिका पुगेका थिए । यसअघि २०७५।०७६ मा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समाल्दा पनि उनी अत्यधिक विदेश भ्रमण गरेको भन्दै आलोचित भएका थिए ।

त्योवेला यादवले १४ महिनामा १५ पटक विदेश भ्रमण गरेका थिए । यसपटक पनि छोटो अवधिमै विदेश भ्रमण भ्याए । यस बीचमा उनले आफ्ना मान्छेलाई सुरक्षित ठाउँमा सरुवा गर्न पनि भ्याए । यही वैशाख ६ गते एकैपटक दशौँ र एघारौँ तहका १८ जना चिकित्सक नर्सको जिम्मेवारी हेरफेर गरेका उनले राष्ट्रिय ट्रमा सेन्टरमा एघारौँ तहका प्रमुख कन्सल्टेन्टलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाएर दशौँ तहका कन्सल्टेन्ट (डा. प्रमोद यादव)लाई उक्त जिम्मेवारी दिएका छन् ।

चारवटा संघीय अस्पतालका एघारौँ तहका चिकित्सक नर्सलाई प्रदेशको मुख्यमन्त्री कार्यालयले जिम्मेवारी दिनेगरी कामकाजमा खटाएका छन् । सोही तहका १२ जना चिकित्सक नर्सलाई पनि अन्तर मन्त्रालय सरुवा गरेका छन् । यसैगरी कोभिड महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको पुष्टि भएर जागिरबाट निकालिएका गंगालाल हृदयरोग उपचार केन्द्रका तत्कालीन वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई स्वास्थ्यमन्त्री यादवको जोडबलमा पुनः काममा फर्काइसकिएको छ ।

राजनीति घटनाक्रम यसरी विकास नभएको भए अमेरिकाबाट फर्केपछि मन्त्री यादवले मन्त्रालयका महाशाखा प्रमुखदेखि केही ठूला संघीय र प्रदेश अस्पतालहरुको निर्देशकको जिम्मेवारी हेरफेर गर्ने तयारीमा रहेको यसअघि नै उनको सचिवालयले जनाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.