४ जेठ, एजेन्सी ।
नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथेलिन अक्साईड’
रहेको भन्दै आयातमा रोक लगाएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले भारतमा उत्पादन हुने एभरेस्ट र एमडीएच ब्रान्डका मसलामा कीटनाशक रसायन ‘एथेलिन अक्साईड’ भेटिएपछिे उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको छ ।
विभागले हालका लागि भारतका एमडीएच र एभरेस्ट ब्रान्डका साम्बर मसला, करी पाउडर र फिश करी मसलाको आयातमा तत्काल रोक लगाउन विभिन्न निकायहरूलाई पत्राचार गरिएको बताएको छ। यतिमात्र नभएर नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका मसला पाउडर र एमडीएच ब्रान्डका चार प्रकारका मसलाको आयात रोकिएको छ । स्वास्थ्यमा हानिकारक हुने रसायन भेटिएको खबरपछि विभागले आयात रोकेको हो ।
विभागले समेत हङकङको खाद्य सुरक्षा केन्द्र(सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई ४ प्रकारका मसलामा रोक लगाएको जनाएको छ । विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।
एमडीएचका उक्त मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ । विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ ।
साथै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ’एथेलिन अक्साईड’ परीक्षणलाई उच्च प्राथमिकतामा राख्न समेत निर्देशन दिएको छ । सिंगापुर र हङकङले भारतीय मसलाको आयातमा रोक लगाएपछि यसको गुणस्तर र खाद्य सुरक्षामा विश्वका विभिन्न मुलुकले प्रश्न उठाएका छन् । पछिल्लो ४ वर्षमा युरोपेली युनियनले ५२७ भारतीय उत्पादनका क्यान्सरजन्य रसायन भेटिएको जनाएको छ ।
ती उत्पादनमा अधिकांश हिस्सा मसलाजन्य वस्तु रहेका छन् । एथलिन अक्साइड ज्वलनशील ग्यास हो । यसको प्रयोग कृषि, स्वास्थ्य र खाद्य प्रशोधनमा कीटनाशकका लागि प्रयोग गरिन्छ । खाद्यान्नलाई ब्याक्टेरिया, कीराबाट जोगाउन पनि यसको प्रयोग गरिन्छ । यसको प्रयोगले क्यान्सरको खतरा सृजना हुन सक्ने सम्भाबना हुन्छ ।
यसको प्रयोग लगातार गर्नाले स्वास्थ्यलाई जोखिममा पार्न सक्छ । यो आर्थिक वर्षको ९ महिनामा मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँबराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँबराबरको आयात गर्दै आएको छ ।