Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री छानबिन समिति बनाउन तयार !

प्रधानमन्त्री छानबिन समिति बनाउन तयार !

५ जेठ, काठमाण्डौ।
सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् ।

लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ उनले यसबारे थप छलफल हुने बताए । लेखकका अनुसार आजको बैठक धेरै लामो समय बसेन । बैठक करिब आधा घण्टा मात्र बसेको थियो । बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए ।

त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए । कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

यस्तै प्रधानमन्त्री दाहालले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी छानबिनका लागि संसदीय समिति बनाउन तयार रहेको बताएका छन् । उनले अब अहिलेको गतिरोध अन्त्यका लागि छानबिन समिति नै समाधानको बाटो हुने पनि बताए । सहकारीको विषय उठाएर संसद् अवरुद्ध गर्नु गलत भएको प्रधानमन्त्रीको भनाइ थियो ।

विगतमा कांग्रेस सरकारमा हुँदै सहकारीको विषय उठेपनि एमाले र रास्वपा सरकारमा सहभागी भइ कांग्रेस प्रतिपक्षमा गएपछि सदन अवरुद्ध हुने गरी उठाइएको प्रधानमन्त्रीले बताए । ’यो विषय उठाएर अहिले सदन अवरुद्धको स्थितिमा पु¥याइएको छ, यो त्यसो गर्नुपर्ने विषय पनि होइन भन्ने मेरो आफ्नै पनि बुझाइ छ । त्यो विषय अहिले नयाँ समीकरण बनेपछि मात्रै उठेको विषय होइन । तपाईंहरूकै मिडियाले यो विषयलाई उठाएको धेरै भयो ।

जतिबेला नेपाली कांग्रेस गठबन्धनमै थियो, सरकारमै थियो यो विषय उठिराखेकै थियो, छलफल चलिराखेकै थियो । तर सदन अवरुद्धतिर जाने गरेको थिएन,’ प्रधानमन्त्री दाहालले भने । यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे हुने छलफल अवरुद्ध सदन खुलाउने विषयमा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ । आजै समय व्यवस्थापन भए सभामुख घिमिरेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसको अवरोधका कारण लगातार संसद् बैठक अवरुद्ध भएपछि सभामुख घिमिरेले सदन खुलाउने पहल गर्दै आएका छन् । प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.