७ वैशाख,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत प¥यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।
मत दिन्न भन्ने पक्षमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल उभिएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ । यसअघि उनले तेस्रोपटक मत लिँदा १५७ मत पाएका थिए । त्यतिबेला एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र आम जनता पार्टीका एक सांसदले विश्वासको मत दिएका थिए ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि कम्तीमा १३८ मत आवश्यक पर्छ । हाल प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जनमत पार्टीका ६, जसपा नेपालका ५, लोसपा र नाउपाका समान चार÷चार सांसद छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीको समान एक÷एक र स्वतन्त्रका दुई सांसद छन् । तीमध्ये एमालेका देवराज घिमिरे सभामुख भएका र अर्का सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाले निलम्बनमा परेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए । विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका छन् ।