१७ वैशाख ,काठमाण्डौ ।
सडक फुटपाथ विस्तारलाई लिएर सडक डिभिजन कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीच टकराब देखिएको छ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम नरोकेपछि सडक डिभिजन काठमाडौंले आजसम्मका लागि दुईदिने अल्टिमेटम दिएको छ ।
बुधबार एक पत्रमार्फत सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंले दुई दिनभित्र सडक पुनर्स्थापना गर्न भनेको छ । अन्यथा कारबाही गर्ने डिभिजनको चेतावनी छ । “यस कार्यालयको कार्य क्षेत्रभित्र सहमतिबिना कुनै पनि काम नगर्न नगराउनु हुन भनी अनुरोध गरिए तापनि बिनासहमति न्युरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा सडक खन्ने तथा भत्काउने काम भएको हुँदा तुरुन्त रोकी सडक दिन भित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ,“ पत्रमा भनिएको छ ।
अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि चेतावनी पत्रमा दिइएको छ । “नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरशः पालना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहां महानगरपालिकालाई विदितै छ । तसर्थ, तहाँबाट भत्काइएको सडकखण्ड दुई दिनभित्र पुनर्स्थापना गरिदिनु हुन अनुरोध छ,“ पत्रमा थप लिएको छ ।
यसअघि गएको शनिबार बालेनको निर्देशनमा महानगरपालिका कर्मचारीले सडक डिभिजन कार्यालयको गेटमा धुलो खसालिदिएपछि बालेनलाई सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले चेतावनी दिएको थियो । आफ्नो कार्यालयको गेटमा धुलो खन्याएलगत्तै सडक डिभिजनले यस्ता अराजक व्यवहार सह्य नहुने चेतावनी दिएको थियो ।
एक विज्ञप्ति निकालेर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार सह्य नहुने र त्यसको प्रतिकार गर्न बाध्य हुने सडक डिभिजन कार्यालयले उल्लेख गरेको थियो । सडक डिभिजनले विवादको विषय रिङरोड नभई न्युरोड क्षेत्रको बाटो भएको जनाएको छ । न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले सडक काट्न शुरु गरेको थियो ।
सडक काटेर चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएको थियो । सडक विभागको अनुमतिविना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले जनाएको छ । त्यसपछि मेयर बालेन्द्र साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धुलो उपहार पठाएका थिए ।
कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयर बालेनको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो । सम्बन्धित कार्यालयमा धूलो खन्याएको भिडियोसहित उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिएका छन् । धुलो उपहार पठाएको विषयलाई भने मन्त्री महासेठले आफूले सहज रुपमा लिएको बताएका थिए ।