२१ जेठ, एजेन्सी ।
ट्वान्टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज विहान बार्बाडोसको ब्रिजटाउनमा भएको समूह ’बी’ को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गर्दै नामिबियाले २१ रन बनाएको थियो । जवाफमा ओमानले १ विकेट गुमाउँदै १० रन मात्र जोड्न सफल भयो ।
सुपर ओभरमा नामिबियका डेविट विजे र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए । ओमानका विलाल खानले बलिङ गरेका थिए । विजेले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए । पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका लागि नसिम खुसी र जिसन मब्सुद ब्याटिङमा आए ।
डेविट विजे बलिङमा आए । ओमानले १ विकेट गुमाएर १० रन मात्र बनायो । तेस्रो बलमा नै ओमानका नसिन खुसी आउट भए । यसअघि ओमानले १ सय १० रनको मध्यम लक्ष्य पछ्याएको निामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । नामिबियाका लागि जान फ्राइलिंकले बनाएको ४५ रन नै सर्वाधिक रह्यो ।
उनले ४८ बलमा ६ चौका प्रहार गरे । निकोलस डाभिनले २४ र कप्तान गेहार्ड इरासमसले १३ रन थपे । २ बलको सामना गरेका ओपनर माइकल भान लिंगेन शुन्य रनमा नै विलाल खानको बलमा बोल्ड आउट भए । ओमानका मेहर खानले २ विकेट लिए । विलाल खान, अकिब इलियास र आयान खानले समान एक् विकेट लिए ।
त्यसअघि ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १ सय ९ रन बनाउँदा अलआउट भयो । खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो । जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे । डेविड वेल्सले ३ विकेट झारे । गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे । यस्तै हिजो भएको खेलमा सह–आयोजक वेस्ट इन्डिजले जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ ।
समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो । पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिज र पिएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेका छन् ।
यसअघि पहिलो खेलमा अर्को सहआयोजक अमेरिकाले क्यानडामाथि ७ विकेटले बाजी मार्दै विजयी सुरुवात गरेको छ । विश्वकपमा आज राति नै नेपाल समेत रहेको समूह डी को पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्नेछन् । सो खेल राति सवा ८ बजे सुरु हुनेछ । नेपालको खेलभने भोलि नेदरल्याण्डसँग रहेको छ ।