२१ जेठ, काठमाण्डौ ।
सीजी फुड्स नेपाल लिमिटेड अन्तर्गतको वाइ वाइ चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । जसअनुसार जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई नगद रू ३० लाख पुरस्कार दिने सीजीले जनाएको छ ।
यसका साथै जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीहरुको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारहरुको पनि घोषणा गरेको छ । जसमा प्रत्येक रन बनाएवापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । चौधरी गु्रप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।
हिजोमात्रै अर्ना बियरले पनि विश्वकपमा नेपाली खेलाडीले बनाउने प्रत्येक रन र विकेटका लागि पुरस्कारको घोषणा गरेको छ । अर्नाले नेपालले कुल प्राप्त गर्ने पुरस्कार रकम बराबरको रकम खेल पूर्वाधारका लागि सहयोग गर्ने पनि घोषणा गरेको छ । नेपालले टी–२० विश्वकपको श्रृंखला अन्र्तगत आफ्नो पहिलो खेल नेदरल्याण्डसँग मंगलबार खेल्दैछ ।
त्यस्तै टेष्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ । यसअघि पनि अर्ना वियर लगायतले यस्तै पुरस्कार दिएको थियो ।