३ असार, विराटनगर ।
नेपालको जलविद्युतमा लगानीका लागि प्रस्ताव गरेका भारतीय अर्बपति गौतम अडानीले भुटानमा लगानी गर्ने भएका छन् ।
१० हजार ८०० मेगावाटको कर्णाली चिसापानीसहितका आयोजना मागेका अडानी नेपालबाट बाहिरिएर भुटानको जलविद्युतमा लगानी गर्ने भएका हुन् ।
लगानीको अन्तिम तयारी गरिरहेका अडानी नेपालमा अस्थिर नीति भएको भन्दै बाहिरिएका थिए । अडानी समूहले नेपालबाट बाहिरिएसँगै भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट बनाउनका लागि आइतबार समझदारीपत्र (एमाओयू)मा हस्ताक्षर गरेको छ ।
आइतबार अडानी ग्रुप र ड्रुक ग्रीन पावर कर्पोरेशनबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । भुटानका प्रधानमन्त्री नाम्गेल वाङचुङको उपस्थितिमा एमओयु भएको हो ।
अडानीले आइतबार नै भुटानका राजा जिङमे खेसरलाई समेत भेटेका छन् । अडानी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यापारी हुन् ।
मोदीकै ग्रीन सिग्नलमा भुटानमा लगानी गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अडानी समूहले भुटानमा जलविद्युत र अन्य पूर्वाधार परियोजनाहरूमा लगानी गर्न लागेको छ ।
अडानीले भुटानका राजालाई भेट्न पाउँदा आफू सम्मानित भएको र भुटानका राजाको ‘ठूला कम्प्युटिङ सेन्टरहरू र डाटा सुविधाहरू सहित गेलेफु माइन्डफुलनेस सिटीका लागि महत्वाकांक्षी इको–फ्रेन्डली मास्टरप्लान’ बाट प्रेरित भएको बताएका छन् ।
कुनै समय नक्कली प्रतिवेदन पेश गरेको भन्दै केही दिनको अन्तरालमा नै खर्बौ सम्पत्ति गुमाएका भारतीय व्यापारी गौतम अडानी केही समय भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनिसकेका छन् । उनको खर्बपतिमा भारतकै मुकेश अम्बानीसँग प्रतिस्पर्धा हुने गरेको छ ।
अडानीको कुल नेटवर्थ पछिल्लो समय ८६ दशलमव १ बिलियन अमेरिकी डलरभन्दा माथि रहेको छ भने अम्बानीको ११५ दशमलव ८ बिलियन डलर रहेको छ । उनी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । उनले सन् १९८८ मा अडानी समूहको स्थापना गरेका थिए ।
वर्तमान समयमा अडानी समूहले कोइला व्यापार, कोइला उत्खनन्, तेल र ग्यास खोज, बन्दरगाहहरू, मल्टी मोडल लजिस्टिक, बिजुली उत्पादन र ग्यास वितरणको काम गर्दै आएको छ ।
एउटा साधारण पृष्ठभूमिका अडानीले अपेक्षाकृत कम समयमा अर्बाै डलरको व्यवसायिक कारोबारी साम्राज्य आडानी समूहको नेतृत्व गरिरहेका छन् ।
यो समूहले सन् २००६ मा आधुनिक मुन्द्रा बन्दरगाहको स्थापना गरेको थियो । जसलाई सन् २००६ मा लोयड्सले सबैभन्दा उत्कृष्ट बन्दरगाहको सूचीमा अग्र स्थानमा राखेको थियो । यो भारतको सबैभन्दा ठूलो व्यवसायिक बन्दरगाह हो ।