२१ असार, काठमाण्डौ ।
इटहरीका चर्चित प्राध्यापक, समालोचक डा. राम्जी तिम्सिना बेपत्ता भएका छन् । मंगलबार रातीसम्म सम्पर्कमा रहेका उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । घरमा उनी आफ्नी आमासँग बस्ने गर्छन् । खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उनी बेपत्ता भएको खुलेको हो ।
धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा पढाउने तिम्सिना कलेजमा समेत अनुपस्थित भएपछि उनका सहकर्मीहरुसमेत खोजीमा जुटेका थिए । फेसबुकमा मंगलबार दिउँसो एउटा पोस्ट शेयर गरेका उनी त्यो दिन रातीसम्म सक्रिय रहेको उनका सहमकर्मीहरुले जनाएका छन् ।
बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा पत्र पाइएको छ । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । मिति २०८ असार १९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ । तिम्सिना बेपत्ता भएपछि प्रहरीमा निवेदन दिइएको छ । निवेदनपछि प्रहरी खोजीमा जुटेको छ ।
उनको मोबाइलको अन्तिम लोकेसन पनि चतरा–बराहक्षेत्र आसपास पाइएको प्रहरीले जनाएको छ । प्रहरीले चतरा तथा बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले तिम्सिनाको खोजी कार्य भइरहेको जानकारी दिए ।
उनका अनुसार सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको छ । त्यहाँ रहेका सीसी क्यामेरा पनि नियालिरहेको, सबै सीसी क्यामेरा हेरिने र थप खोजी गरिने उनले बताएका छन् । उनका शुभचिन्तकहरूले पनि खोजी कार्य गरिदिन अपिल गरेका छन् ।
उनी खासगरी समालोचनामा रूचि राख्छन् । इटहरीसहित पूर्वमा भएका विभिन्न साहित्यिक, वैचारिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी जनाउँदै आएका तिम्सिना विभिन्न पुस्तक तथा अन्य विषयमा पनि आफ्नो समालोचना प्रस्तुत गर्दै आएका छन् । उनी आश्चर्यचकित ढंगबाट बेपत्ता भएपछि शुभचिन्तकहरूले चिन्ता प्रकट गरेका छन् ।