नयाँ राजनीतिक दल खोल्ने हर्क साम्पाङको घोषणा , साथ दिन अपिल

२१ असार ८१, शुक्रबार

२१ असार, विराटनगर । 

गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर दलीय उम्मेदवारहरुलाई पराजित गर्दै धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएका हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’ साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफ्ना हरेक निर्णय, योजना र प्रतिक्रियाहरु सामाजिक सञ्जालबाट नै दिने गरेका छन् । केही महिना अघि मात्रै काठमाडौंका स्वतन्त्र मेयर बालेन्द्र शाहसँगको भेटपछि पनि उनले नयाँ दल खोल्न सक्ने बताएपनि दल खोल्ने घोषणा भने गरेका थिएनन् ।

Advertisement

हर्कले गएको इलामको प्रतिनिधिसभाको उपनिर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंहलाई समर्थन गरेका थिए । जातियताको पहिचानसहितको प्रदेशको वकालत गरिरहेको पहिचानवादीहरुको समूहले डेकेन्द्रलाई संयुक्त रुपमा उम्मेदवार बनाएको थियो । उनी एमालेका उम्मेदवार सुहाङ नेम्वाङसँग पराजित भएपनि उनले १२ हजार सम्मानजनक मत प्राप्त गरेका थिए ।

यस्तै झापामा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका अधिवक्ता समेत रहेका स्वागत नेपालको समेत हर्कसँग निकटता रहेको देखिन्छ । स्वागत र हर्क नै डेकेन्द्रलाई समर्थन गर्न इलाम पुगेका थिए । यद्यपि हर्कका अनियन्त्रित सामाजिक संजालका अभिब्यक्ति र पहिचानको पक्षमा उभिएपछि भने उनलाई धरानमा स्वतन्त्र मेयरमा विजयी बनाएका मतदाताहरु समेत पछिल्लो समय रुष्ट देखिन्छन् ।

Advertisement

कतिपय उनका पोष्टहरुमा समर्थन भन्दा आलोचनाहरु नै बढी आउने गरेको देखिन्छ । हर्कको निर्वाचन लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी तथा लौरो अभियान, हाम्रो नेपाली पार्टीसँग निकटता देखिएपनि पछिल्लो समय रास्वपाका सबैभन्दा बढी आलोचकका रुपमा हर्क देखिदै आएका छन् ।

यद्यपि आन्तरिक किचलोमा फसेको रास्वपाका निलम्मित महामन्त्री मुकुल ढकालले तयार गरेको ३८ जिल्लाको समीक्षा प्रतिवेदनमा भने बालेन, गोपी हमालजस्ता स्वतन्त्र ब्यक्तिहरुसँग मिल्न सके ०८४ मा रास्वपाको स्पष्ट बहुमत रहने सुझाव दिइएको छ। तर सार्वजनिक प्रतिवेदनमा बालेन र गोपीको नाम उल्लेख भएपनि हर्कको नाम समेटिएको छैन् ।

२० हजार ८२१ मतका साथ नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गरेका हर्कले एमालेको गड मानिएको सहर धरानलाई लौरोमय बनाइदिए । जनताले राजनीतिक पार्टीमाथिको विश्वास गुमापछि यसपटक साँचिनै विकास चाहेर धराने जनताले रोजेका मेयर हुन् हर्क साम्पाङ राई ।

जनताको त्यो विश्वासलाई हर्कले कति सम्मान गरेका छन्, त्यसको छुट्टै समीक्षा होला । तर मेयरमा निर्वाचित भएको तीन वर्षपछि दल खोल्न हौसिएका हर्कलाई जनताले कति साथ दिन्छन् त्यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top