३ साउन ,काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् । संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिँदा दुई तिहाइ पु¥याउने रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ मत पु¥याउन ओलीले कम्तीमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ ।
अब दुई तिहाइ मत पु¥याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ । यसअघि प्रचण्डले विश्वासको मत माग्दा १९४ मत विपक्षमा परेको थियो । ओली त्यही मत आफ्नो पक्षमा पार्ने तयारीमा छन् । अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ ।
उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ । मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस–एमालेले समर्थन गरिरहेका छन् । तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुसी देखिएको छैन ।
यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका ५ सांसद रहेका छन् । त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने सर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरी छलफल अगाडी बढाएको छ । जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन् ।
त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ। तर, नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाइ भन्दा बढी १९२ मत हुन जान्छ । यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ ।
मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ । यो बाहेक १४ सिट रहेको राप्रपाले पनि ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा छलफलमा रहेको छ । राप्रपाले अहिलेसम्म ओली नेतृत्वको सरकारलाई नकारात्मक टिप्पणी गरेको छैन ।
कांग्रेस– एमालेसँग सहमति भएपछि शुरुमै स्वागत गरेको राप्रपाले पनि विश्वासको मत दिएमा ओलीले संसदमा २०० भन्दा बढी मत प्राप्त गर्ने सम्भावना रहेको छ । त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निश्चित प्रायः रहेको छ । तीन दलको गरी प्रतिनिधिसभामा ६३ मत रहेको छ ।
जुन मत प्रचण्डले विश्वासको मत माग्दा पक्षमा खसेको थियो । त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ । यसरी हेर्दा ओलीले लिने विश्वासको मतको विपक्षमा ६६ मत पर्ने देखिन्छ । यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा साउन ७ गते सांसदहरूसँग प्रश्नोउत्तर हुने भएको छ ।
आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डले बताएका छन् । प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ । ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नउत्तर हुन लागेको हो ।