६ साउन, काठमाण्डौ ।
चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र हराइरहेका बाँकी यात्रुको खोजीका लागि भारतले सहयोग गर्ने भएको छ । भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
उनका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलमा पुगेर खोजीकार्यमा जुटेको छ । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीनवटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ ।
कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो ।
सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको वाग्मती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।
उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । जसमध्ये १७ जनाको शवको सनाखत भएको छ । अझै ३७ यात्री र २ बसको अवस्था अज्ञात रहेको छ ।