६ साउन , काठमाण्डौ।
दलगतरुपमा प्राय एकअर्कालाई प्रतिष्पर्धीका रुपमा उभ्याएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अन्य नेताहरुबीचमा जस्तो तिखो, तितो आरोपप्रत्यारोप वा व्यक्तिगत टिकाटिप्पणी खासै सुनिदैन ।
भलै दुवै दलका अन्य नेताहरु ओलीदेउवामाथि व्यक्तिगतरुपमै उत्रिएका देखिन्छन् । तर ओलीले देउवालाई र देउवाले ओलीलाई आलोचना गर्नै पर्दा पनि शब्द छनौटमा ध्यान दिएको देखिन्छ ।
वाक पटुतामा माहिर ओलीले प्रचण्ड, माधव नेपाल, काँग्रेसकै अन्य नेताहरुमाथि पनि जसरी बिझ्ने शब्दका फोहराहरु छाड्छन्, देउवाप्रति उनी हमेशा नरमरुपमा नै प्रस्तुत हुने गरेका छन् ।
सिंगो काँग्रेस पार्टीको उछितो काड्न परे पछि नपर्ने ओली देउवाको हकमा भने अलि नरम देखिने गरेका छन् । यता यसै कम बोल्ने देउवा व्यक्तिगत टिकाटिप्पणी भन्दा पनि विषय, मुद्याकेन्द्रित भनाइ राख्छन् ।
उनका मुखबाट कुनै नेतामाथि पनि गालीजस्ता सुनिने आलोचना वा टिप्पणीहरु खासै सुनिदैन । यसबीचमा आज त ओलीदेउवाले खुलेरै एकअर्काको प्रशंसा गरे ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आज विश्वासको मत लिने क्रममा संसदको रोष्टममा गएर बोलेका दुवै नेताले एकअर्काको साथमा अगाडि बढ्ने बाचा गरे र प्रशंसा गरे ।
विश्वासको मतको प्रश्ताव पेश गर्नुअघि बोलेका ओलीले एमाले र काँग्रेसले विगतदेखि नै देश अप्ठेरोमा पर्दा संगै मिलेर पार लगाएको बताए। साथै उनले राष्ट्रिय सहमतिको सरकार गठन भएको मितिले २ वर्षसम्म आफूले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म देउवाले नेतृत्व गर्ने सहमति भएको पनि सुनाए ।
यता देउवाले पनि वर्तमान सरकारले मुलुकलाई उन्नतीको नयाँ बाटोमा लाने विश्वास व्यक्त गर्दै ओली अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी रहेको भन्दै प्रशंसा गरे ।
‘सम्माननीय प्रधानमन्त्री अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिपरिषद्मा रहेका साथीहरू योग्य र सक्षम हुुनुहुन्छ। उहाँको नेतृत्वमा मुलुकले उन्नतीको नयाँ बाटो समात्नेछ भन्नेमा मैले विश्वास लिएको छु,’ उनले भने।
साथै, स्थिर सरकारका लागि कांग्रेस र एमाले मिलेको पनि बताए । साथै, उनले असार १७ गते भएको सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको जानकारी गराए ।