रविलाई विनोद चौधरीले फर्काए यस्तो जवाफ

रविलाई विनोद चौधरीले फर्काए यस्तो जवाफ

७ साउन ,काठमाण्डौ ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जवाफ फर्काएका छन् । लामिछानेले आफूमाथि कुण्ठापूर्ण अभिव्यक्ति दिएको उनले टिप्पणी गरेका छन् । आइतबारको संसद बैठकमा लामिछानले चौधरीलाई लक्षित गर्दै कटाक्ष गरेकोप्रति कांग्रेस सांसद चौधरीले सोमबार सामाजिक सञ्जालमार्फत लामिछानेलाई लक्षित गर्दै जवाफ फर्काएका छन् ।

लामिछानेले हिजो आइतबारको सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन पनि सकिन्थ्यो तर राजनीतिक गतिविधिले आफूहरुलाई झस्काएको कारण प्रतिपक्षमा बसेको प्रष्ट पारेका थिए । लामिछानेले भनेका थिए,‘सरकार सुरु हुने वित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय कोहि हाजिरी जमानीमा छुट्नुभएको मान्छे वालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो, बाँसबारी छाला जुत्ताको विषयको अनुसन्धान चलिरहँदा रहँदै गीतको आवाज आयो बालकोटबाट त्यहाँ हामीलाई शंकाको विषय बन्यो,त्यसपछि मन्त्रिपरिषद् बन्यो जहाँ जहाँ हामीले विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार देखियो’ ।

त्यसको जवाफमा चौधरीले लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन्। जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन।’

उनी थप्छन्,‘विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिशोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो।’ अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा उनको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको र त्यो अत्यन्तै निन्दनीय भएको चौधरीले लेखका छन्।

संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि उनले आग्रह गरेका छन्। यसअघि रवि गृहमन्त्री रहेको अवस्थामा बासबारी छाला जुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा सीआईबीले अनुशन्धानका लागि भन्दै चौधरीसँग बयान लिएको थियो । बयान पछि पनि चौधरीले पूर्वगृहमन्त्री लामिछानेमाथि नै लक्षित गर्दै स्टन्ट नगर्न सुझाव दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.