९ साउन , काठमाण्डौ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ । विमानमा सवार केही यात्रुको शव फेला परेको छ । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार पोखरा उडेको जहाज धमावनमार्ग छाड्दा साथ दुर्घटनामा परेको हो ।
अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य जारी रहेको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले सौर्य एयरको जहाज दुर्घटनामा परेको बताए । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।
सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।
सौर्य एयरका डेपुटी जनरल म्यानेजर उमेश आचार्यका अनुसार १९ जनाको टोली लिएर जहाज पोखरा जान लागेको थियो । अहिले दुर्घटनग्रस्त जहाजको उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिइसकेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनायो । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् । आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।
ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ । यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो ।
यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
तस्विर सौजन्य = नेपाली सेनाको फेसबुक पेज