१३ साउन, काठमाण्डौ ।
त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र आधा भन्दा बढी यात्रुहरुको दुर्घटनाको २ हप्ता भन्दा बढी समय वितिसक्दा समेत अत्तोपत्तो छैन् । उनीहरुको खोजीमा सहयोग गर्न भारतबाट आएको उद्धार टोली आज स्वदेश फर्किने भएको छ। एक हप्ताको समय लिएर भारतबाट चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले आज भारत फर्किएको हो ।
यसबीच उसले बेपत्ता न बस, न यात्रु केही पनि फेला पार्न सकेन। गत असार २८ गते शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ। काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।
बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी सबै बेपत्ता भएका थिए। तीमध्ये हालसम्म २५ जनाको शव फेला परेका छन् भने बाँकी यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन। घटनाकै दिनदेखि नेपाली सेना, नेपाल प्रहरी, गोताखोर टोली खोजीमा खटिए। एक हप्तासम्म खोजी गर्दा २५ जनाको मात्र शव फेला प¥यो।
नेपाली स्रोतसाधनले दुई बस र बाँकी यात्रु फेला पार्न नसकेपछि सरकारले भारतबाट उद्धार टोली झिकाएको थियो। नेपाल आएर प्रविधिसहित नेपाली उद्धार टोलीसँगै घटनास्थलदेखि नारायणी नदीसम्म खोजीमा खटिएको टोलीले समेत न यात्रु भेट्न सक्यो न बस । अब भारतीय टोली स्वदेश फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी नै राखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले केराबारी भन्ने स्थानमा बस जस्तो देखिएको भन्दै स्थानीयले खबर गरेको भन्दै बसको भग्नावशेष रहेको आशंकामा खोजी सुरु गरिएको बताएका छन् । दुर्घटनापछि निरन्तरको वर्षाका कारण नदीमा दैनिक बाढी आइरहेको छ। धमिलो पानीका कारण खोजी मा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
अहिले पनि दैनिक ६५÷७० जना खोजीमा खटिरहेको चितवन प्रशासनले जनाएको छ । अहिलेसम्म फेला परेका २५ शवमध्ये १७ वटाको मात्र सनाखत भएको छ। ८ शवको भने अझै परिचय पत्ता लाग्न सकेको छैन। जसमा ६ पुरुष र २ महिला छन्।