अमेरिकामा ट्रम्प राष्ट्रपति भएको हेर्न चाहान्छन् किम जोङ उन

१९ साउन, एजेन्सी ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाको अगामी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई हेर्न चाहेको खुलेको छ । उत्तरबाट भागेर दक्षिण कोरिया आएका एक वरिष्ठ अधिकारीले किमको चाहना अमेरिकाको राष्ट्रपति फेरि डोनाल्ड ट्रम्प होउन् भन्ने रहेको दाबी गरेका छन् । उत्तर कोरियाबाट भागेका वरिष्ठ अधिकारी रि इल क्युले आफूसँग त्यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ ।

रि इल क्यु सन् २०१६ यता भाग्ने उच्च पदस्थ उत्तर कोरियाली अधिकारी हुन् । रि इल क्यु सातपटक किम जोङ उनसँग आमनेसामने भइसकेका छन् । दक्षिण कोरिया भाग्नुअघि रि इल क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए । रि इल क्युले किम सामान्य व्यक्ति जस्तै देखिने तर उनी बाँच्नका लागि जे पनि गर्ने आरोप लगाएका छन् । आवश्यक परेमा किमले आफू बाँच्न उत्तर कोरियाका २ करोड ५० लाख मानिसलाई मार्न पनि सक्ने आक्षेप रिले लगाएका छन् ।

Advertisement

रि इल क्युले ट्रम्प र किम जोङ उनबीच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियालाई परमाणु कार्यक्रमका लागि आफू ट्रम्पसँग वार्ता गर्न सक्ने ठानेको बताएका छन् । डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँगको सम्बन्धलाई आफू राष्ट्रपति भएका बेलाको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरिसकेका छन् । गत महिना एक ¥यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए ।

ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ– किम जोङ उनले मलाई याद गर्छन्।’ रि इल क्युले उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको दाबी गरेका छन्। तर, गत महिना उत्तर कोरियाले अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो । रिले उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने बरु आफूविरुद्ध लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्न प्रयास गर्ने दाबी गरेका छन् ।

Advertisement

किमले रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पको विजय चाहिरहँदा यता अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले दलका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताएकी छन् ।

ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन्, जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा छनोट गरिएको छ । उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराइन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट अलग गर्दै ह्यारिसलाई समर्थन गरेका थिए । ह्यारिस स्थानीय समय शुक्रबार दिउँसो २ हजार ३५० डेमोक्र्याटिक प्रतिनिधिबाट समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार बनेकी हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top