१९ साउन, काठमाण्डौ।
आज काभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै छ । दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुने खेलमा नेपाल भारतमाथि पहिलो जितको खोजीमा हुनेछ । महिला भलिबलमा दक्षिण एसियाकै बलियो टिम भारतलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन । पाँच वर्षअघि भएको १३औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपालले भारतको सामना गरेको थियो ।
जुन खेलमा नेपालले भारतलाई टक्कर दिएको थियो । तर, पाँचौँ तथा निर्णायक सेटमा नेपाल पराजित हुँदै भारतलाई उपाधि सुम्पिएको थियो । भारतविरुद्ध नेपालको त्यही फाइनल खेलको प्रदर्शन नै अहिलेसम्मको उत्कृष्ट हो । अहिलेसम्म भारतलाई हराउन नसकेको नेपाली महिला टिमले जारी काभा महिला भलिबलको आफ्नो दोस्रो खेलमा भारतको सामना गर्न लागेको हो ।
भारतलाई हराएमा नेपालले इतिहास नै बनाउने छ । नेपाली महिला टिमकी कप्तान अरुणा शाही यसपटक तयारी राम्रो रहेकाले उपाधि नै हात पार्ने दाबी गर्छिन् । ’यसपटक तयारी राम्रो गरेका छौँ । भारतलाई हराउने मात्रै होइन, उपाधि नै जित्न चाहन्छौँ,’ शाहीले पत्रकार सम्मेलनमा भनेकी थिइन् । सिनियर र युवा खेलाडी टिममा रहेकाले नतिजा राम्रो आउने शाहीको दाबी छ ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगिताको सुरुवात गरेको छ । दोस्रो खेलमा भारतविरुद्ध नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने शाही बताउँछिन् । सुरुवाती दुवै खेल जितेको भारत लयमा देखिएको छ । त्यसैले भारतलाई हराउन नेपाललाई सानो मेहनतले भने पुग्ने छैन । भारतले यसअघि पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित पराजित गरेको थियो ।
नेपालले भने पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । त्यसैले नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ भने भारत लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । आज राखेप कभर्डहलमा नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल स्मरण गराउने छ ।
जतिबेला पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो । यस नेसन्स लिगमा राउन्ड रोबिन लिग सहभागी ५ राष्ट्र प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने प्रावधान छ । नेपालका प्रशिक्षक जगदीश भट्टले माल्दिभ्सबाहेक प्रतिस्पर्धी अन्य चार टोलीको समान हैसियत भएको जनाएका थिए ।